Artharajniti ~ राष्ट्र बैंक नेतृत्वविहीन भएको हिजो बुधबार एक महिना पूरा भएको छ । महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै चैत २४ गतेदेखि उक्त पद रिक्त छ । अहिले डेपुटी गभर्नर नीलम ढुंगानाले कायम मुकायम गभर्नरको जिम्मेवारी सम्हालिरहेकी छिन् । गभर्नर नियुक्तिका सम्बन्धमा राजनीतिक सरगर्मी बढिरहेको र यही कारण सरकारकै भविष्यमाथि प्रश्न उठिरहेको बेला मंगलबार सत्ता साझेदार दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गभर्नर नियुक्तिको विषय ढिला हुनुमा प्रधानमन्त्री केपी शर्मा ओलीको कुनै दोष नभएको भन्दै बचाउ, मात्रै गरेनन्, यो समस्या आउनुमा राष्ट्र बैंकभित्रको आन्तरिक भएको समेत बताए । राष्ट्र बैंकमा गभर्नरका लागि पछिल्ला दुई मुख्य दाबेदार हुन् कामु गभर्नर ढुंगाना र कार्यकारी निर्देशक गुणाकर भट्ट । भट्टलाई कांग्रेसको समर्थन रहेको बताइन्छ भने ढुंगानालाई एमालेको समर्थन छ । देउवाले भट्टलाई गभर्नरका रुपमा अघि सार्दा ओलीले बहालवाला कार्यकारी निर्देशकलाई नियुक्ति गर्न कानुनी अड्चन देखाइरहेका छन् ।
युवराज खतिवडा कार्यकारी निर्देशक नियुक्त हुँदै गर्दा गभर्नरका लागि सिफारिसका लागि भएको विवादका क्रममा महान्यायाधिवक्ता कार्यालयसँग राय मागिएको थियो । त्यतिबेला कार्यकारी निर्देशकलाई सिफारिस गर्नु उपयुक्त नहुने राय दिइएको थियो । त्यही रायलाई देखाएर भट्टलाई नियुक्त गर्न ओलीले ढिलाइ गरिरहेका छन् । भट्टको राजीनामा स्वीकृत गर्न गभर्नर सिफारिस समितिका संयोजक समेत रहेका अर्थमन्त्री विष्णु पौडेलले कामु गभर्नर ढुंगानालाई ‘निर्देशन’ दिइसकेको बताइन्छ । तर, अहिलेसम्म उनले राजीनामा स्वीकृत गरेकी छैनन् । त्यसो त भट्टले गभर्नर बन्ने प्रयोजनकै लागि राजीनामा बुझाइसकेका छन् । राष्ट्र बैंकमा एक महिनाअघि नै जानकारी दिएर राजीनामा दिनुपर्ने व्यवस्था रहेकोमा उनले त्यसको सट्टा जसले एक महिनाको तलब नै बुझाएर वैशाख ५ गते कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए । तर, कामु गभर्नर ढुंगानाले स्वीकृत गरेकी छैनन्, यसो गर्दा प्रतिस्पर्धामा आफू कमजोर हुने भएपछि उनले यस्तो स्वीकृति रोकेकी हुन् । देउवाको अभिव्यक्तिअनुसार राष्ट्र बैंकभित्र भएको समस्या त्यही नै हो ।
यस्तो अवस्थामा यहाँनिर दुईवटा कारण रहेको हुनसक्ने विश्लेषकहरू बताउँछन् । पहिलो– समस्याबारे देउवा नै भ्रममा छन् । दोस्रो– समस्या राष्ट्र बैंकभित्र मात्रै होइन, कांग्रेसभित्र पनि छ । यी दुवै विषयमा बजारमा टीकाटिप्पणी भइरहेकै छन् ।गभर्नर नियुक्तिमा प्रधानमन्त्री ओली तथा एमालेनिकट व्यक्तिले ‘डबल रोल’ खेलिरहेको आरोप एउटा पक्षको छ । ओलीले गभर्नर बनाउन कांग्रेससँग सहमति गर्ने र यता आफ्नै सल्लाहमा राजीनामा स्वीकृति रोक्ने काम गरेको आरोप लगाइँदै आएको छ । तर, देउवालाई भने नीलमले राजीनामा स्वीकृत नगेकोले समस्या भएको भन्दै रोक्ने र अन्तिममा आफू निकटका व्यक्तिलाई नियुक्ति दिने प्रपञ्च भएको अर्को पक्षको आरोप छ ।