बाबुरामप्रति कमल थापाको टिप्पणी : ‘हताश मानसिकता उदाङ्गो भयो’

Machchapuchchre Bank

Artharajniti  ~  राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईमा हताश मानसिकता देखिएको टिप्पणी गरेका छन्। प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको वक्तव्यलाई लिएर भट्टराईले गरेको टिप्पणीमाथि थप टिप्पणी गर्दै दल र सरकारलाई कुनै आलोचना नगरेका राजा शाहप्रति खनिनु भनेको दुर्भाग्य भएको बताएका हुन। ‘मेरो सहपाठी मित्र बाबुराम भट्टराईको हताश मानसिकता फेरि एकपटक उदाङ्गो भएको छ। राजा ज्ञानेन्द्रले फागुन ७ को सन्देशमा देशको वर्तमान अवस्थाप्रति मार्मिक ढङ्गबाट चित्रण गर्नु भएको छ। राजाले देश बचाउन र बनाउन आफू सहयोग गर्न तयार रहेको र त्यस कार्यमा सहयोग गर्न आह्वान गर्नुभएको छ। राजाले प्रजातन्त्र, दल वा सरकारको विरोध पनि गर्नुभएको छैन,’ थापाले भट्टराईमाथि प्रश्न गरेका छन्, ‘देशको अवस्थाप्रति चिन्ता व्यक्त गर्ने र संकट समाधान गर्न सहयोग गर्न तयार रहेको विचार व्यक्त गर्ने अधिकार नागरिकका रूपमा रहेका राजा ज्ञानेन्द्रलाई संविधानले दिएको छैन ? संविधान प्रदत्त विचार स्वतन्त्रताको अधिकार बाबुराम र उनका आसेपासेलाई मात्र हो ?’ जनताले चाहेमा संघीय धर्मनिरपेक्ष गणतन्त्र परिवर्तन गर्ने अधिकार संविधानले नै सुनिश्चित गरेको जनाउँदै थापाले थप प्रश्न गरे, ‘त्यो अधिकार कुण्ठित गर्ने वा निषेध गर्ने अधिकार बाबुराम जीलाई कसले दियो ?’ वर्तमान अवस्था र व्यवस्थाप्रति असन्तोष प्रकट गरेको कारण राजाको विचार र गतिविधि नियन्त्रण गर्नुपर्छ भन्ने बाबुरामको विचार स्वयं नै निरङ्कुश र फासिष्ट छ, राजाको कुरा छोडिदिनुहोस्, राजाको मन्तव्यमा त गणतन्त्रको उल्लेख पनि छैन।’ विगत अठार वर्षदेखि निरन्तर गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता परिवर्तन गर्नुपर्छ भनिरहेको र त्यसका लागि संघर्ष गरिरहेको पनि थापाले जनाएका छन्। ‘सक्नुहुन्छ भने हामीलाई नियन्त्रण गरेर देखाउनु होस्, राजासहितको प्रजातन्त्र, हिन्दुराष्ट्रको पुनःस्थापना तथा संघीयताको खारेजी चाहने लाखौं जनतालाई नियन्त्रण गर्नुहोस्,’ उनले अगाडि भने, ‘विचार नियन्त्रण गर्ने बाबुरामजीले बुझ्नुपर्छ कि जनताको मानसिकतामा ठूलो परिवर्तन आइसकेको छ। १८ वर्ष अघि विदेशीको दबाब र प्रभावमा परेर तयार गरिएको गलत भाष्य अब जनताले बुझिसकेका छन्। जनतालाई ढाँटेको र धोका दिएको छर्लङ्ग भैसकेको छ।’ अध्यक्ष थापाले युद्दकालमा राजासँग मिलेर जाने प्रस्ताव ल्याएको पनि स्मरण गराएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्