” रविको सांसद पद जाने र तेस्रोपल्ट चितवनमा चुनाव हुने ” : गोकुल बाँस्कोटा

Machchapuchchre

Artharajniti  ~   राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगीमा संसदीय छानबिन विशेष समितिबाट आफूले सफाइ पाएको दाबी गरिरहेका छन् । पूर्वमन्त्री एवम् सत्तारुढ नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले लामिछानेको सांसद पद दोस्रोपल्ट जाने र चितवनमा पुनः चुनाव हुने दाबी गरेका छन् । बुधबार बिहान ट्विट गर्दैै बाँस्कोटाले सूर्य थापाको सभापतित्वमा गठित संसदीय समितिको प्रतिवेदनमा राजनीतिक सौदाबाजी नभए आउने हिउँदसम्म रविको पद जाने दाबी गरेका छन् । उनले रविको नाम उल्लेख नगरे पनि जान्नेलाई छान्ने भनेर प्रतीकात्मक शब्दको प्रयोग गरेका छन् । ‘चितवनका नेता पनि जनता पनि कति जाँगरिला भने चुनाव त पाँच वर्षमा तीन वटा गर्न पनि तयारी हालतमा बस्न सक्ने । कानुनविद्का वकिली तर्क र थापा प्रतिवेदनमा राजनीतिक सौदाबाजी नभए जान्नेलाई छान्ने त्यो चान्स आउने हिउँदमै पूरा हुने कुरा पक्काजस्तै छ भनिन्छ । ७८औँ जिल्ला त्यसै भन्या रैनछ चितवनलाई’, बाँस्कोटाले लेखेका छन् । २०७९ को आम चुनाव जितेपछि पहिलो कार्यकालमा उनले आफ्नै कमजोरीका कारण महिना दिनमै पद गुमाएका थिए । दोहोरो नागरिकतासम्बन्धी मुद्दामा आफूमाथि अनुसन्धान भइरहेका बेला ११ पुस २०७९ मा गृहमन्त्री बनेका उनी पद सम्हालेको महिना दिनमै १३ माघमा सर्वोच्च अदालतको आदेशले पदमुक्त भएका थिए ।

२३ फागुन २०८० मा दोस्रोपल्ट उपप्रधान तथा गृहमन्त्रीको रूपमा शपथ लिएदेखि नै उनले सहकारी ठगी आरोप थाप्लोमा बोकेर आफूमाथि छानबिन गरिरहेका निकायको नेतृत्व गरेका थिए । संसदमा तत्कालीन प्रतिपक्षी दल नेपाली कांग्रेसको मागबमोजिम एमाले सांसद सूर्यबहादुर थापाको नेतृत्वमा गत १५ जेठमा सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति गठन भएको थियो । ९९ दिनको छानबिनपछि समितिले यसै साता प्रतिनिधिसभामा प्रतिवेदन बुझाएको छ । प्रतिनिधिसभाले उक्त प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई निर्देशन दिइसकेको छ । लामिछानेले सहकारी ठगी आरोपबाट आफूलाई सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सफाइ दिएको दाबी गर्दै आएका छन् । तर, समितिकै सभापति सूर्य थापाले भने रविले सफाइ नपाएको, उनलाई त दोषी करार गरेर प्रचलित कानुनअनुसार कारबाही गर्न सरकारलाई लेखी पठाएको बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्