नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन कार्यदलले दिएको सुझाव

Machchapuchchre

Artharajniti   ~  गृह मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्य नेतृत्वको कार्यदलले नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिबाट अवकास पाउने प्रावधान हटाउनुपर्ने सुझाव दिएको छ। जेठ १६ गते बनेको आचार्य नेतृत्वको ६ सदस्यीय समितिले ३० वर्षे सेवा अवधिको कुनै औचित्य नरहेको भन्दै हटाउन सुझाव दिएको हो। कार्यदलमा आचार्य, सदस्य सचिव कृष्ण गैरे, सदस्यहरू डिआइजी राजन अधिकारी, पूर्व डिआइजी एवं विज्ञ पुरूषोत्तम कँडेल, एपिएफका डिआइजी दिपेन्द्र शाह र ऋषि पौडेल छन्। समितिलाई एक महिना अध्ययन गर्न समय दिइएको थियो। तर बीचमा सरकार परिवर्तन भएपछि एक महिनाको अवधि थप गरिएको थियो। कार्यदलले अध्ययन सकेर साउन १७ गते गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको संयोजक आचार्यले बताए। अहिलेसम्म यस विषयमा भएका अध्ययनहरूले पनि ३० वर्षे सेवा अवधिलाई हटाउनुपर्छ भन्ने खालका प्रतिवेदन दिइएको उनले बताए। नेपाल प्रहरी नियमावली २०७१ अनुसार प्रहरीमा तीन तरिकाले अवकासमा जाने प्रावधान विद्यमान छ। उमेर हद, पदावधि र ३० वर्षे सेवा अवधिका कारणले अवकासमा जाने प्रावधान छ। ३० वर्षे सेवा अवधिका कारण एकैचोटी प्रहरी अधिकृतहरू ४९-५२ वर्षमै अवकासमा जानुपर्ने बाध्यता रहँदै आएको छ। जसकारण यो सेवा अवधि हटाउनुपर्छ भन्दै प्रहरी अधिकृतहरू पनि लबिइङमा छन्। यसरी हटाउँदा दक्ष जनशक्ति एकैपटक अवकासमा जाँदा संगठनलाई पनि असर पर्ने भन्दै आलोचना हुने गरेको छ। यही विषयलाई लिएर पनि राजनीति हुने गरेको भन्दै यसलाई हटाउनु उपयुक्त हुने कार्यदलको बुझाव हो। यसलाई एकैपटक हटाउँदा बढुवाको लाइनमा असर पर्नसक्ने भन्दै यसलाई पनि मध्यनजरमा राखेर सेवा अवधि हटाउन कम्तिमा ६ वर्षदेखि १० वर्षसम्म लाग्ने कार्यदलका सदस्य सचिव कृष्ण गैरेले बताए। उनका अनुसार नेपाल प्रहरीमा प्रत्येक आर्थिक वर्षमा ६ महिनाको दरले अवधि बढाउँदै लैजाँदा उपयुक्त हुन्छ। ‘सुरूमा साढे ३० वर्ष, त्यसपछि फेरि ६ महिना थपेर ३१ वर्ष थप्दै गएर ६ देखि १० वर्षमा ३० वर्षे सेवा अवधिलाई पूर्ण रूपमा खारेज गर्ने भन्ने सुझाव छ,’ उनले भने। उनका अनुसार यदि यस वर्ष कोही सेवा अवधिका कारण अवकासमा जाँदैछ भने उनलाई थप ६ महिना सेवामा रहन दिने व्यवस्था गर्न सुझाव दिएको हो। त्यसपछिको वर्षमा ६ महिना वा एक वर्ष थप्ने, फेरि अर्को वर्ष २ वर्ष क्रमश: अवधि थप गरेर विस्तारमा हटाउँदै लग्न सुझाव दिइएको हो। यसो गर्दा ३० वर्षे अवधि एकै पटक हटाउँदा हुने असर पनि कम हुने उनीहरूको बुझाइ छ। नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि तत्काल हटाउनुपर्ने भनिरहँदा सशस्त्र प्रहरी बलमा भने २०९५ पछि मात्रै हटाउँदा उपयुक्त हुने सुझाव रहेको पनि उनले बताए। ‘एपिएफमा २०९५ पछि मात्रै हटाउँदा उपयुक्त हुन्छ भन्ने छ। तर केही आवश्यक परेमा विशेष दरबन्दी सिर्जना गरेर पनि बढुवा गरेर मिलाउन सकिने भन्ने छ,’ उनले भने। त्यसैगरी नियमावलीमा अहिले प्रहरी महानिरीक्षकको उमेर ५८ वर्ष पुरा हुँदा अवकास जाने प्रावधान छ।  प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) वा प्रहरी नायब महानिरीक्षक (डिआइजी) को ५६ र एसएसपी र एसपीको ५५ वर्षमा अवकाशमा जाने प्रावधान छ।कार्यदलले यसलाई पनि बढाउन सिफारिस गरेको छ। आइजिपीलाई ६० वर्ष, एआइजी र डिआइजीलाई ५९ वर्ष, एसएसपी र एसपी ५८ वर्ष, डिएसपी र इन्स्पेक्टर ५७, वरिष्ठ सई, सई, असई ५४ वर्ष, हवल्दार, जवानलाई ५३ वर्ष र कार्यालय सहयोगीको उमेर हद ५५ वर्षमा अवकाशमा जाने गरी सिफारिस गरेको हो।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्