राष्ट्र बैंकको खुकुलो नीति र तरलता सहज हुँदा बढ्यो घरजग्गा कारोबार

Machchapuchchre

Artharajniti   ~   नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाबाट खुकुलो नीति लिएपछि घरजग्गाको कारोबार बढ्न थालेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार दुई वर्षभन्दा बढी समयपछि घरजग्गा कारोबार बढ्न थालेको हो । यसअघि कोरोना महामारी र कित्ताकाट रोक्ने सरकारी नीतिका कारणले घरजग्गाको कारोबारमा शिथिलता आएको थियो । विभागका अनुसार २०८१ सालको जेठ महिनामा ६१ हजार १६१ वटा जग्गा कारोबार भएको छ । केन्द्रीय बैंकले जेठ पहिलो साता मौद्रिक नीति समीक्षा गर्दै घरजग्गा कारोबारमा लिएको कडा नीति खुकुलो बनाएको थियो । राष्ट्र बैंकले बैंकहरूमा तरलता अभाव भएपछि घरजग्गामा जाने रकममा कडाइ गर्ने नीति लिएको थियो । राष्ट्र बैंकले घरजग्गा किन्दा मासिक आम्दानीको ५० प्रतिशत किस्ता तिनुपर्ने व्यवस्था गरेको थियो । सो व्यवस्थाका कारण घरजग्गा व्यवसाय ओरालो लागेको र समग्र अर्थतन्त्र नै प्रभावित बनेको घरजग्गा व्यवसायी बताउँदै आइरहेका छन् । कर्जाको किस्ता मासिक ५० प्रतिशतमा झारेपछि घरजग्गा कारोबारीसहित सेवाग्राहीलाई समस्या प¥यो । यो व्यवस्थालाई सुधार गर्दै तेस्रो समीक्षाबाट केन्द्रीय बैंकले किस्ताको सीमा ७० प्रतिशत पु¥यायो । यही नीतिका कारण जेठ महिनामा घरजग्गाको कारोबार ह्वात्तै सुधार आएको हो । यसबाहेक बैंकहरूमा तरलता रकम बढ्नु र ब्याजदर बिस्तारै ओरालो लाग्नुले समेत कारोबार बढाउन मद्दत पु¥याएको बताइन्छ । विभागका अनुसार जेठ महिनामा ७ हजारभन्दा बढी घरजग्गा नामसारी भएका छन् । यो पनि पछिल्लो २ वर्ष यताकै सबैभन्दा धेरै हो । देशभरका १३० मालपोत कार्यालयबाट यो सङ्ख्यामा घरजग्गाको कारोबार भएको हो । यस्तै जेठ महिनामा अवधिमा ३० वटा अपार्टमेन्ट समेत किनबेच भएको छ । कारोबार बढेसँगै घरजग्गामार्फत उठ्ने राजस्वसमेत बढेको  र घरजग्गाको कारोबार बढ्न थालेपछि अर्थतन्त्र चलायमान बन्नुका साथै राजस्व सङ्कलन समेत बढ्ने अपेक्षा सरोकारवालाको छ ।  देशभर फैलिएका १३० वटा मालपोत कार्यालयबाट मासिक २०औँ करोड राजस्व सङ्कलन भइरहेको तथ्याङ्कले देखाउँछ । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा जेठ महिनामा सबैभन्दा धेरै राजस्व सङ्कलन भएको छ । यो महिना ३२ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको विभागले जनाएको छ । यसबाहेक चैत महिनामा ३१ करोड ५२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो भने गत वर्ष २०८० को असोज महिनामा ३७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।चालु वर्षको ११ महिनाको अवधिमा कुल २ अर्ब ९४ करोड ७४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जानकारी दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्