” संसदमा प्रतिपक्षको भूमिका थप प्रभावकारी बनाउँछौँ ” : पूर्वप्रधानमन्त्री देउवा

Machchapuchchre

Artharajniti  ~  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा प्रतिपक्षको भूमिका थप प्रभावकारी बनाउने बताउनुभएको छ । उहाँले संसद्मा नेपाली कांग्रेसको भूमिका प्रभावकारी हुन नसकेको सन्देश गएकाले अब थप प्रभावकारी ढङ्गले प्रस्तुत हुने बताउनुभयो । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाको महेशपुरमा स्वर्गीय पृथ्वीराज कँडेलको अर्धकदको सालिक अनावरण र बसपार्क उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री देउवाले जनजीविकाका सवालमा प्रतिपक्षले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले नवलपरासीमा महेशपुर मूलभन्सार भएर पनि पूर्ण रूपमा सञ्चालनमा आउन नसकेकाले यसको भौतिक एवं प्रशासनिक सुधारका लागि पहल गर्ने आश्वासन पनि दिनुभयो । पूर्वगृहराज्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्दराज कँडेलका पिता पृथ्वीराज कँडेलको स्मृतिमा बसपार्कको नामकरण गरिएको र अर्धकदको सालिक निर्माण गरिएको हो । स्व कँडेल २०१५ सालमा पाल्हिमाझ खण्ड पूर्वीनिर्वाचन क्षेत्र नं ५७ बाट निर्वाचित सांसद हुनुहुन्थ्यो । नवलपरासी क्षेत्र नं १ का सांसद विनोद चौधरीले राजनीतिक दल फरक–फरक भए पनि जिल्लाको विकासमा सबै दल एकजुट हुनुपर्ने बताउनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य देवकरण कलवार सन्तुले उखु र केरा खेतीको पकेट क्षेत्र भए पनि यहाँका उत्पादनले बजार पाउन नसकेको बताउनुभयो ।

प्रदेशसभा सदस्य वैजनाथ कलवारले यस क्षेत्रको विकासका लागि महेसपुर—सुनवल हँुदै महलपोखरीबाट पाल्पासम्म जोड्ने फराकिलो सडक निर्माणका लागि पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवाको ध्यानार्कषण गराउनुभयो । सङ्घीय सरकारको रु एक करोड, पाल्हीनन्दन गाउँपालिकाको रु १३ लाख गरी कुल रु एक करोड १३ लाख लागतमा बसपार्क निर्माण भएको बसपार्कका संरक्षक देवेन्द्रराज कँडेलले जानकारी दिनुभयो । यस्तै पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवाले आजै नवलपरासीको परासीमा पार्टीका नेता तथा कार्यकर्तासँग अन्तक्र्रिया गर्नुभएको छ ।कार्यक्रममा सभापति देउवाले नेपाली कांग्रेसलाई कसैले पनि हराउन नसक्ने गरी जनस्तरमा काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले पार्टीमा दण्ड र पुरस्कारको नीति कडाइका साथ लागू गर्ने भएकाले नेता, कार्यकर्तालाई ढुक्क भएर काम आग्रह गर्नुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्