सरकारले मिटरब्याज पीडितलाई वार्तामा बोलायो

Machchapuchchre

Artharajniti  ~  २३ दिनसम्म पैदल हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितलाई वार्तामा आउन आग्रह गर्दै गृह मन्त्रालयले पत्र पठाएको छ । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहालाई आइतबार पत्र पठाउँदै मन्त्रालयले वार्तामा बोलाएको हो । मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका शाखा अधिकृत चिरञ्जीवी जीएमले हस्ताक्षर गरेको पत्रमा कुशवाहाको नेतृत्वमा मिटरब्याज समस्या समाधानका लागि पैदलयात्रा, प्रदर्शन लगायतका आन्दोलनका कार्यक्रम सञ्चालन भएकोबारे मन्त्रालयको ध्यानाकर्षण भएको भनिएको छ । ‘सो कार्यक्रममा तपाईं नेतृत्व रहेको भन्ने बुझिन आएकाले समस्या समाधानका सम्बन्धमा थप छलफलका लागि मन्त्रालयमा आमन्त्रण गरिएको छ’, पत्रमा भनिएको छ, ‘बढीमा ५ सदस्यीय वार्ता टोली गठन गरी छलफलका लागि मन्त्रालयमा उपस्थित हुनुहोला ।’ मन्त्रालयले संघर्ष समितिलाई वार्तामा बोलाउनुपर्नेमा व्यक्तिगत रुपमा पत्र लेखेको भन्दै समितिले भने असन्तुष्टि जनाएको छ । हालै बसेको समितिको बैठकले ‘व्यक्तिगत रुपमा पठाइएको पत्रको जवाफ, व्यक्तिगत रुपमै दिने’ निर्णय गरेको समितिका प्रवक्ता नीर्घ नवीनले  बताए । ‘झण्डै एक महिनाको न्याय मार्च, आन्दोलन भएको छ, मन्त्रालयको एक जना शाखा अधिकृतले पठाएको पत्रमा सबै विषय समाधान भइसकेको भने जस्तो विषयहरु उल्लेख गरेर आन्दोलन भइरहेको छ, के विषय हो भन्न आउनु भने जसरी बोलाएको छ’, उनले भने, ‘यसलाई संघर्ष समितिले होइन, व्यक्तिगत रुपमै जवाफ दिने भन्ने निर्णय भएको छ ।’ मिटरब्याज पीडितका लागि भन्दै पूर्वबाट कुशवाहाको नेतृत्वमा ५०० र पश्चिमबाट नीर्घ नवीनको नेतृत्वमा २०० जना पीडित पैदल मार्च गरेर काठमाडौंसम्म आएका थिए । काठमाडौं आएपछि पनि उनीहरुको विरोध प्रदर्शन जारी थियो । गृह मन्त्रालयले लेखेको पत्रमा ‘मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि कानून संशोधन, अधिकार सम्पन्न आयो गगठन, आयोगको कार्यकाल समाप्त भइ विघटन भएपश्चाम उजुरी पछ्र्यौट सम्बन्धी कार्यविधि तर्जुमा गरेर दुवै पक्षको बीचमा छलफल तथा मेलमिलाप समेत गराउने र सहमति नभएका विषयमा कानून बमोजिम मुद्दा दर्ता गर्ने लगायतका जिम्मेवारी नेपाल प्रहरीलाई प्रदान गर्ने र प्रमुख जिल्ला अधिकारले त्यसको अनुगमन गर्ने व्यवस्था  मिलाइएको’ समेत भनिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्