” गठबन्धनबाट उपलब्धिसँगै चुनौती पनि बढ्यो ” : कांग्रेस

Machchapuchchre

Artharajniti  ~  नेपाली कांग्रेसले गठबन्धन गर्दा उपलब्धि भए पनि असन्तुष्टि र चुनौती समेत बढेको निचोड निकालेको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जारी कांग्रेस केन्द्रीय समिति बैठकमा विधान अधिवेशनका लागि तयार ‘राजनीतिक प्रस्ताव’ पेस गर्दै यस्तो बताएका हुन् । अघिल्लो प्रतिनिधिसभाको विघटनपछि संसद् र संविधानको रक्षाका लागि निर्मित गठबन्धनका मुख्य दलहरू गएको निर्वाचनमा एक भएर मैदानमा गएको स्मरण गर्दै शर्माले यसो गर्दा केही उपलब्धि भए पनि असन्तुष्टि र चुनौती पनि बढेको राजनीतिक प्रस्तावमा उल्लेख गरेका छन् । ‘पृष्ठभूमि र वैचारिक धार हाम्रो भिन्न थियो र छ, त्यसैले चुनावमा ‘प्री पोल एलायन्स’ हुनु सही या गलत भन्ने दुई थरी मतबिच हामी गठबन्धन गरेरै जाने संस्थागत निर्णयमा पुगेका थियौँ’, शर्माले भनेका छन्, ‘त्यसबाट उपलब्धि हासिल भएको छ भने असन्तुष्टि र चुनौती पनि बढेका छन् ।’महामन्त्री शर्माले गठबन्धनबाट प्राप्त गणितको समीक्षामा ‘भोट ट्रान्सफर’ को विषय चुनौतीपूर्ण विषय रहे पनि ०७४ को निर्वाचनको तुलनामा नेपाली कांग्रेस पछिल्लो निर्वाचनमा तीन वटै तहमा पहिलो दलका रूपमा स्थापित हुनु गठबन्धनको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् ।‘स्थानीय निर्वाचनमा ७५३ पालिका मध्ये १८८ गा.पा. अध्यक्ष र १४१ नगर/उपमहानगर र महानगर प्रमुख सहित ३२९ पालिकाको नेतृत्वमा कांग्रेस उम्मेदवार विजयी भए’, शर्माले आफ्नो तथ्य पेस गर्दै भनेका छन्, ‘प्रमुखतर्फ करिब ४४ % हो यो ।’ त्यस्तै  उनले ७५३ उपप्रमुखमध्ये नेपाली कांग्रेसका उम्मेदवार ३०० स्थानमा (१९० उपाध्यक्ष र ११० उपप्रमुख) विजयी भएको जुन कुल स्थानको ४०% हुने बताएका छन् ।

Nabil bank

प्रतिनिधिसभातर्फ २७५ मध्ये प्रत्यक्षमा ५७ क्षेत्र र समानुपातिकमा ३२ सिट गरेर ८९ स्थानमा कांग्रेस विजयी बन्यो भने ५५० सिट रहेको प्रदेशसभामा प्रत्यक्षतर्फ १११ र समानुपातिकतर्फ ६४ गरी १७५ सिटमा जित हासिल गरेको शर्माको भनाइ छ । ‘तिन वटै तहमा काँग्रेसको पहिलो स्थान जनताको विश्वास, पार्टी पङ्क्तिको मेहनत र गठबन्धनका सहयात्रीहरूको जोडबलले थियो भन्ने तथ्य हामीले बिर्सन मिल्दैन’, शर्माले गठबन्धनप्रति अगाध आस्था देखाएका छन् ।शर्माले ०७९ को चुनावमा भएको गठबन्धन र परिणाम पश्चात् उब्जिएको केही प्रश्नमा दुई सूक्ष्म आत्म चिन्तन भने महासमितिमा गर्नुपर्ने बताएका छन् ।‘पहिलो, कांग्रेसका परम्परागत मतदाताले अन्य चिन्हमा मत दिन पार्टीले गरेको आग्रह रुचाएनन्, तिनको विश्वासलाई पुनर्जागृत गर्ने प्रश्न । दोस्रो, गठबन्धन मार्फत पहिलो दल त बन्यौँ, तर समानुपातिकतर्फ ०७४ को तुलनामा हामीले करिब ७ % मत गुमाउनुको वास्तविक कारण के हो ?’, शर्माले प्रश्न पनि गरेका छन् । उनले गठबन्धनबारे अहिले बोल्ने समय नभएको निष्कर्ष निकाल्दै भनेका छन्, ‘त्यो आगतको सम्झौता होइन, विगतले बोकाएको अभिभारा हो ।’ गठबन्धनमा निरन्तरता चाहँदा अलमल या अस्पष्टता नभई सुस्पस्ट प्रतिबद्धता जरुरी रहेको पनि स्मरण गराएका छन् । महामन्त्री शर्माले ०७९ को निर्वाचनपछि पुस १० गते अनपेक्षित रूपमा भत्किएको गठबन्धन राष्ट्रपति निर्वाचनमा पुग्दै गर्दा पुन ‘ट्रयाक’ मा फर्किएको दाबी गरेका छन् ।  ‘एकल बहुमत कसैको पनि नभएको संसदमा गठबन्धनलाई कायम राखेर नै देश र जनताको हितमा काम गर्नुपर्ने अभिभारा हाम्रो छ’, हालको गठबन्धनबारे शर्माको दृष्टिकोण छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्