‘भ्रमण वर्ष २०२०’ महाअभियानमा एकजुट भएर लागौं -राष्ट्रपति भण्डारी

Machchapuchchre

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल भ्रमण वर्ष २०२०’ को औपचारिक उद्घाटन गरेकी छन् । काठमाडौंको टुडिखेलमा विशेष कार्यक्रमकाबीच राष्ट्रपति भण्डारीले पर्यटन वर्षको औपचारिक उद्घाटन गरेकी हुन् । कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भ्रमण वर्ष महाअभियानका रुपमा अघि बढ्ने विश्वास व्यक्त गरिन् ।

उनले हाम्रा अमूल्य स्रोत र प्रचुर सम्भावहरु रहेको हुँदा यसको समुचित सदुपयोग गर्दै यो भ्रमण वर्ष राष्ट्रिय महाअभियानलाई सफल पार्न एकजुट भएर लाग्नुपर्ने बताइन् । उनले विदेशी पर्यटकको स्वागत र सत्कारमा जुट्न पर्यटन व्यवसायी तथा सम्बन्धित निकायलाई आग्रह गरिन् । उनले प्रकृतिको विनाश नगरी पर्यटन प्रवर्द्धनमा उल्लेख्य भूमिका निभाउन समेत आग्रह गरिन् ।

‘अब नेपालले पर्यटन क्षेत्रमा योजनावद्ध कार्यक्रम नल्याए समस्या हुन्छ’, उनले भनिन्, ‘भ्रमण वर्षको लक्ष्य पूरा गर्ने गरी काम गर्नुपर्नेछ। चितवन, लुम्बिनी र अन्नपूर्ण सर्किटसहतिमा पर्यटकले धेरै चासो दिएका छन्।’ उनले अतिथिलाई देवतासमान मान्ने नेपालको संस्कृति बचाइराख्नुपर्नेमा जोड दिइन्। राष्ट्रपति भण्डारीले नेपाल सहासिक पर्यटनको केन्द्र बन्न सक्ने पनि उल्लेख गरिन्।

उनले अब हामीले प्रकृतिलाई बिगारेर, मारेर होइन, सिंगारेर, साँचेर पर्यटन अभियान चलाउपर्ने बताइन् । उक्त समारोहमा स्वागत मन्तव्य राख्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले यो कार्यक्रमलाई प्रस्थान विन्दुका रुपमा लिएको र आगामी दशक पर्यटन दशकका रुपमा मनाउने तयारीमा सरकार रहेको बताए ।

समारोहमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनालगायत पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, विभिन्न देशबाट आएका पर्यटनमन्त्री, सङ्घीय सरकारका मन्त्री, प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसद, संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, विदेशी नियोगका प्रमुख र विभिन्न देशका प्रतिनिधिको उपस्थित भएका छन् ।

शुभारम्भअघि सरकारी निकाय, निजी क्षेत्र, पर्यटनसँग सम्बद्ध सङ्घसंस्था, सामाजिक क्षेत्र, स्वयंसेवी समूह सङ्गठन, सामाजिक सङ्घसंस्थाको ब्यानर र पोसाकसहित मार्चपास गरिएको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विशेष प्रस्तुति थियो । नेपालको ख्यातिप्राप्त कलाकारको साङ्गीतिक प्रस्तुति सांस्कृतिक विविधता झल्किने मौलिक प्रस्तुति राखिएको छ ।

आजै सातवटै प्रदेशका मुख्य स्थानमा भ्रमण वर्ष २०२० को शुभारम्भ गरिएको छ । प्रदेश नं १ मा विराटनगरको रङ्गशाला, प्रदेश नं २ मा जानकी मन्दिर परिसर, प्रदेश नं ३ मा चितवनको सौराहा, गण्डकी प्रदेशको लेकसाइट पोखरा, प्रदेश नं ५ को बर्दियाको ठाकूरद्वार, प्रदेश नं ६ को सुर्खेत बुलबुल ताल र सुदूरपश्चिम प्रदेशको धनगढीमा उद्घाटन गरिएको भ्रमण वर्ष सचिवालयले जनाएको छ ।

त्यस्तै जनवरी ७ तारिख (पुस २२ गते) विदेशस्थित नेपाली दूतावासमा भ्रमण वर्षको उद्घाटन गरिने र दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत उद्घाटन गरिने जनाइएको छ । सरकारले नेपाल भ्रमण मनाएर उक्त अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउनले लक्ष्यसहित प्रवद्र्धनका साथै पूर्वाधार विकासलाई सँगै अघि बढाएको छ । सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

यसअघि सरकारले सन् १९९८ मा नेपाल भ्रमण वर्ष मनाएर पाँच लाख विदेशी पर्यटक ल्याउने लक्ष्यसहित प्रवद्र्धनात्मक गतिविधि सञ्चालन गरिएको थियो । त्यस्तै सन् २०११ लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । सात वर्षपछि उक्त लक्ष्य सन् २०१७ मा भेटिएको थियो । सन् २०१७ मा १० लाख पर्यटक नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डको तथ्याङ्क छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्