Artharajniti ~ अहिले बैंकिङ क्षेत्र खराब ऋणको दबाबमा छ। अर्थतन्त्रमा सुधार हुनेभन्दा पनि चुनौती बढ्ने क्रम जारी छ। अहिले ३.६१ प्रतिशत रहेको खराब ऋण पोहोर आधा मात्र थियो। अर्थतन्त्र जर्जर भइरहँदा यो खराब ऋण अर्को वर्ष कति पुग्ने हो यकिन छैन। नियामकले दिएको सुविधाका कारण खराब ऋण सीमाभित्र बाँधिएको छ। अर्कोतर्फ बैंकहरु नयाँ ऋण विस्तारतर्फ होइन सम्पूर्ण ध्यान रिकभरीतिर लगाएर बसेका छन्। रिकभरीमा जाँदा पैसा नउठ्ने धितो मात्र सकार गरेर बस्नु पर्ने अवस्था छ। अर्थतन्त्रका कुनै पनि क्षेत्रले क्षमता अनुसारको ‘पर्फर्मेन्स’ देखाउन सकेका छैनन्। पछिल्लो २०१९ देखि २०२३ सम्म (कोभिड सुरु भएको वर्षदेखि) आइपुग्दा हामीसहितका देशहरु हेर्दा केहीको औसत एनपीए ११ प्रतिशत छ। सबै देशको औसत नै ७ प्रतिशत छ। सबैभन्दा कम नेपालकै छ। सबैभन्दा बढी पाकिस्तान र बंगलादेशको छ। श्रीलंकाको बढिरहेको छ। यो भनेको हामीकहाँ खराब ऋण कोभिड लगत्तै घटेको देखिन्छ। पछिल्लो दुई वर्ष चाहिँ बढ्न गएको छ। हाम्रो खराब ऋणलाई बढ्यो भन्नु भन्दा पनि कोभिडको असर अहिले आएर देखियो भन्नु सान्दर्भिक होला। आजको दिनमा ३.६१ प्रतिशत खराब कर्जा पुग्दा अरुको बढेको विन्दुबाट ७ प्रतिशतभन्दा थोरै तल आएको छ। कोभिडले ल्याएको एनपीए हो। हाम्रोमा आज आएर चर्चा हुन थालेको कारण चाहिँ त्यतिबेला हाम्रो ऋण विस्तार बढेको थियो। अरु देशले कोभिड प्रभावितलाई स्टिमुलस प्याकेज (हातमै पैसा पुर्याइदियो) नै दियो। जनताको हातमा पैसा नै गयो। हाम्रोमा चाहिँ बैंकिङलाई प्रयोग गरेर ब्याज दर घटाउनुका साथै पुनर्कर्जाजस्ता मौद्रिक औजारहरु प्रयोग गरियो। हामीले पुनर्संरचना र पुनर्तालिकीकरणको सुविधा दियौं। धेरै ठाउँमा यो अभ्यास भएको पनि हो, त्यो गर्नु ठिक पनि थियो। अर्थतन्त्रमा सकारात्मक चक्र (साइकल) आउँदा त्यसलाई उचालेर माथि लैजान सघाउँछ भन्ने अनुमानका आधारमा त्यो गरिएको थियो। तर, हामी सबैले अनुमान गरेजस्तो त्यो भएन। त्यो हुन नसक्दा अब आएर खराब ऋण बढ्नु स्वाभाविक नै हो। हाम्रो ऋण विस्तार हेर्ने हो भने दक्षिण एसियाकै हामी उच्च हौं। पछिल्लो दुई वर्ष मात्र घटेको हो। कोभिडको समयमा र त्योभन्दा अगाडि हामीले २०/२२ प्रतिशतको वृद्धि सधैं गर्दै आएका थियौं। ऋण विस्तार निकै बढी तर खराब ऋण कम हुनु – पक्कै स्वाभाविक थिएन। त्यो कुरोमा अहिले आएर असर देखिएको हो। पछिल्लो समय खराब ऋण बढाउनका लागि मुद्रास्फीति (मूल्यवृद्धि) ले पनि भूमिका खेल्यो। अहिले आएर मूल्यवृद्धि केही नियन्त्रणमा आए पनि त्यसअघि माथि नै थियो। मूल्यवृद्धिले गर्दा जुन खालको नगद प्रवाह हुनु पर्ने थियो त्यो हुन सकेन। पक्कै पनि खराब ऋण अनुपात बढेको छ। तर, अरुसँग पनि तुलना गरेर हेर्यो भने ३.६१ प्रतिशत भनेको न्यून नै हो। औसत नै ७ प्रतिशत भएको अवस्थामा हाम्रो त आधा मात्र छ। अहिले आएर भारतले केही घटाएको छ। अझै पनि अरु देशले घटाउन सकेको छैन। हाम्रो खराब ऋणलाई एकदमै अस्वाभाविक हो भनेर नहेरी एउटा ‘आर्थिक चक्र’ को उपज हो भनेर हेर्नु बढी सान्दर्भिक हुन जान्छ।
कोभिड भनेको १०० वर्षपछिकै सबैभन्दा ठूलो संकट थियो। लामो समय लकडाउन भएर हामीले मात्र होइन बाँकी संसारले पनि काम गर्न पाएन। यो अवधिमा व्यापार व्यवसाय घाटामा गयो। त्यसअघि त हामीले भर्खर संविधान बनाएर स्थिर सरकार दिने अवस्थामा प्रणाली गएको थियो। त्यो बेलाको बहुमतले सरकार पाँचै वर्ष चल्छ भन्ने ‘कन्फिडेन्स’ पनि सबैलाई थियो। त्यो बेला अर्थतन्त्रले ७/८ प्रतिशतको आर्थिक वृद्धि गर्यो। तीन वर्ष नै हामी ऐतिहासिक उच्च वृद्धिमा गएका थियौं। त्यो बेला अवसरहरु धेरै आए। कयौंले आफ्नो क्षमता बढाए। कतिले नयाँ उद्योग पहिचान गरेर लगानी गरे। त्यसको चक्र पुरा हुन नपाउँदै हामी क्षमताको ३०/४० प्रतिशत पनि काम गर्न नसक्ने अवस्थाको सृजना भयो, कोभिडले। यसले गर्दा ठूलो नोक्सानी सहनुपर्ने अवस्थाको सृजना भयो। एकैपटक ठूलो ‘ग्याप’ आएपछि समस्या सबैतिर भयो। त्यो बेला हामीले क्षमता विस्तार गर्दा अवस्था ठिकै थियो। तर जब क्षमताअनुसार काम गर्न नपाएपछि चक्र नै अवरुद्ध भयो। दोहोरो अंकको आर्थिक वृद्धिको कुरा गरिरहँदा त्यो खालको संकट आएपछि सबै क्षेत्र समस्यामा पर्ने स्वाभाविक थियो। कोभिडको संकटपछि पनि ‘रिभाइभ’ ‘भी’ (V) सेप’ मा हुन्छ भन्ने थियो। तर फेरि आएर त्यो हुन सकेन। संसारभरी मूल्यवृद्धि सुरु भयो। अर्थतन्त्रमा उतारचढावहरु आए। खाद्यान्यको मूल्यवृद्धि संसारभर नै भयो। रसिया-युक्रेन युद्धले फेरि संसारलाई अर्को संकट तिर लग्यो। त्यसले नेपालको ‘सप्लाइ चेन’ लाई पनि अवरुद्ध बनाइदियो। हामीले महँगोमा सामान आयात गर्नु पर्यो। फेरि गत वर्ष आएर मूल्य उच्च दरले घट्यो। अगाडि महँगोमा ल्याएको सामानको मूल्य घटेपछि त्यसले उत्पादनमा अर्को खालको समस्या ल्यायो। जसले सामान आयात गरेका थिए उनीहरु समस्यामा परे। धेरै वटा फ्याक्टरले नेपाली अर्थतन्त्रमा असर पारेको देखिन्छ, जसले गर्दा बैंकहरुको खराब ऋण अनुपात बढ्यो।