Artharajniti ~ धरहरामा पार्किङ सुरु गरेको विषयलाई लिएर काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयबीच विवाद चुलिएको छ। महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले माघ १४ देखि धरहरामा पार्किङ सुरु गराएकामा मन्त्रालयले निर्माण नै नसकिएको भनेर रोक लगाउन पत्र लेखेपछि दुई निकायबीच विवाद चुलिएको हो। मन्त्रालयको पत्रको जवाफमा बालेनले सार्वजनिकरुपमै २ वर्ष ९ महिना २० दिन अगाडि उद्घाटन भइसकेको धरहरा बनाउने कामअझै नसकिएको पत्र लेख्नुको औचित्य के हो? भनेर मन्त्रालयसँग प्रश्न गरेका छन्। उनले सामाजिक संजाल फेसबुकमार्फत पार्किङ बन्द गर्न महानगरलाई पत्र लेख्नुभन्दा ‘नबनेको भए म बिसौं तलामा कसरी पुगें’ भनेर प्रतिप्रश्न गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र काट्न भनेका छन्। तत्कालीन प्रधानमन्त्री ओलीले निर्माण नसकिंदै आफ्नो नाम लेखाउने रहरमा २०७८ वैशाख ११ गते धरहरा उद्घाटन गरेका थिए। बालेनको सार्वजनिक अभिव्यक्तिपछि मन्त्रालय पनि क्रुद्ध बनेको छ। सहरी विकासमन्त्री सीता गुरुङले निर्माणको काम अझै पूरा नभएकाले धरहरामा कुनै हालतमा पार्किङ गराउन नदिने बताएकी छन्। ‘तत्कालीन प्रधानमन्त्री ओलीले आफ्नो पालामा बनेको भनेर नाम लेखाउन हतार हतारमा उद्घाटन गरेका थिए। अहिलेसम्म सबै निर्माण कार्य पूरा नहुनुले त्यही पुष्टि हुन्छ। ओलीले पहिले नै उद्घाटन गरेका थिए भनेर हामी निर्माण नसकिएको ठाउँमा महानगरलाई पार्किङ गराउन दिन सक्दैनौं,’ मन्त्री गुरुङले भनिन्। धरहरामा महानगरले पार्किङ सुरु गरेपछि बाँकी निर्माणको काम प्रभावित भएको भनेर ठेकेदार कम्पनीले गुनासो गरेपछि मन्त्रालयले पत्र लेखेको हो।‘काम भइरहेको स्थानमा पार्किङ खुला गर्दा निर्माण ठप्प हुन पुगेको छ। ठेकेदार कम्पनीले काम गर्न पाइन भनेको छ। उसले म्याद थपका साथै क्षतिपूर्ति मागेको छ,’ मन्त्री गुरुङले भनिन्, ‘त्यसैले निर्माण नसकिएसम्म हामी पार्किङ गर्न दिन सक्दैनौं। केही दिन कुर्दा महानगरलाई के बिग्रन्छ?’ उनका अनुसार ठेकेदार कम्पनीले फागुन १५ भित्र सबै काम सक्ने प्रतिबद्धता जनाएको थियो। अब धेरै काम बाँकी छैन। मन्त्रालयका अनुसार, भूमिगत पार्किङ संचालन गर्न आवश्यक पर्ने हिटिङ भेन्टिलेसन एयर कन्डिसिनिङ, फायर फाइटिङ लगायत सिस्टम र सीसी क्यामेरा जडान लगायत काम बाँकी छन्। निर्माण नसकिएका कारण मन्त्रालयले महानगरलाई धरहरा हस्तान्तरण गरेको पनि छैन।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति