अंग्रेजी नयाँबर्षमा प्रधानमन्त्री ओलीको शुभकामना – सन् २०२० आरोग्यको वर्ष बनोस्

Machchapuchchre

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि शुरु भएको नयाँ वर्ष सन् २०२० को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।

नयाँ वर्ष सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा समेत मनाउँदै लाखौं पर्यटकलाई नेपालमा स्वागत गरिने बताउँदै प्रधानमन्त्री ओलीले सन् २०२० स्वदेश र विदेशमा रहेका समस्त दिदीबहिनी तथा दाजुभाइका लागि सुख, शान्ति, समृद्धि, प्रगति र आरोग्यको वर्ष बनोस् भन्ने कामना गरेका छन् ।

नववर्षका अवसरमा दिएको शुभकामना सन्देशमा उनले भर्खरै बिदा भएको २०१९ नेपालको सुस्थिर राजनीतिक उपलब्धिको वर्षका रुपमा रहेको, यसै वर्ष अन्तरराष्ट्रिय जगतमा नेपालको उपस्थितिलाई थप प्रभावकारी बनाउन सकेको तथा दूरगामी महत्वको ऐतिहासिक नेपाल भ्रमणमा मित्रराष्ट्रका पाहुनालाई सत्कार गरेको स्मरण गरेका छन् ।

‘यही समयमा हामीले पृथकतावादी प्रवृत्तिलाई सधैंका लागि अन्त्य गर्‍यौं । विकासका केही दूरगामी योजना यसै वर्ष थालनी गर्‍यौं भने जनताको जीवनमा प्रत्यक्ष परिवर्तन महसुस गराउने केही आयोजना सम्पन्न गर्‍यौं । चार वर्षअघिको भूकम्पबाट ध्वस्त भएका संरचनाहरुको पुनर्निर्माण सम्पन्नताउन्मुख छ,’ प्रधानमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ ।

व्यवसायका लागि सुरक्षित राष्ट्रका रुपमा नेपालको स्थान केही माथि पुगेको तथा आयात कटौती र निर्यातमा केही वृद्धि गरी सुदृढ अर्थतन्त्रको जग बसाल्न सफल भएको बताउँदै प्रधानमन्त्री ओलीले निराशाहरु विनिमय गरी समय बिताउने हाम्रो सामाजिक प्रवृत्ति संक्रमणकालीन संशयलाई चिर्दै विकास, सुशासन र समृद्धितर्फको बहसमा अभ्यस्त हुन थालेको सन्देशमा उल्लेख गरेका छन् ।

‘समृद्ध नेपाल-सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न हाम्रा कदम थप अघि बढेका छन् । समग्रमा राजनीतिक संघर्ष र व्यवस्थापनको बहसबाट सिंगो समाज यस अवधिमा विकास र समृद्धिको बहसतर्फ केन्दि्रत रहन सकेको छ,’ सन्देशमा प्रधानमन्त्रीले भनेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्