अर्थ राजनीति ~ नेपालमा कर्जाको औसत ब्याजदर १२ प्रतिशत नाघेको पहिलोपटक होइन । कोभिड–१९ भन्दा अगाडि पनि कर्जाको भारित औसत ब्याजदर १२ प्रतिशत माथि पुगेको थियो । अहिलेकै स्तरमा ब्याजदर हुँदा त्यसबेला कर्जा विस्तार पनि उत्साहजनक नै थियो ।आर्थिक वर्ष २०७५/७६ मा निजी क्षेत्रमा प्रवाह हुने कर्जा १९.४ प्रतिशतले विस्तार भएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । तर, गत आर्थिक वर्ष ०७९/८० मा भने त्यस्तो कर्जा जम्मा ३ दशमलव ८ प्रतिशतले मात्रै बढ्यो ।कर्जाको यो वृद्धिदर ४२ वर्षयताको कमजोर हो । यसअघि आर्थिक वर्ष २०३९/४० मा २ दशमलव ३ प्रतिशत मात्रै निजी क्षेत्रतर्फको कर्जा विस्तार भएको थियो । त्यसयता पहिलोपटक निजी क्षेत्रतर्फको कर्जा विस्तार ४ प्रतिशतभन्दा कम भएको हो ।यसअघि अर्थतन्त्र अत्यन्तै कमजोर भएको आव ०५८/५९ मा समेत निजी क्षेत्रको कर्जा विस्तार ५ दशमलव २ प्रतिशत भएको थियो ।कर्जाको ब्याजदर उस्तै तहमा हुँदा पनि योबेला अत्यन्तै निराशाजनक कर्जा विस्तार हुनुमा बजारमा समग्र मागमा नै कमी आउनु प्रमुख कारण रहेको नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिना बताउँछिन् ।वैदेशिक अध्ययनमा जाने र रोजगारीमा जानेहरुको संख्या धेरै छ । खर्च गर्ने युवा बाहिर जाँदा मागमा कमी आएको छ । त्यति मात्रै होइन, विगतमा कर्जा तिर्नकै लागि कर्जा जाने गरेकोमा चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शनले त्यसलाई रोकिदिएपछि पनि कर्जा विस्तार घटेको छ ।त्यति मात्रै होइन, विगतमा कर्जा तिर्नकै लागि कर्जा जाने गरेकोमा चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शनले त्यसलाई रोकिदिएपछि पनि कर्जा विस्तार घटेको उनको भनाइ छ ।
कर्जाको माग घट्नुको प्रमुख कारण समग्र बजारको मागमा कमी आउनु तथा लगानी गर्ने व्यवसायीको आत्मविस्वास कमजोर रहनु भएको नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीको बुझाइ छ ।०७६ चैतबाट कोभिड नियन्त्रणका लागि भएको लकडाउनले चैतदेखि असारसम्म ४ महिना कर्जा विस्तार ठप्प हुँदा पनि आर्थिक वर्ष ०७६/७७ मा निजी क्षेत्रमा जाने कर्जा १२.६ प्रतिशतले विस्तार भएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । कर्जाको भारित औसत ब्याजदर १२ प्रतिशतको नजिक हुँदा नै उक्त कर्जा विस्तार भएको थियो ।कोभिडअगाडि २०७५ असारमा १२.२९ प्रतिशत रहेको कर्जाको भारित औसत ब्याजदर कोभिडका कारण लकडाउन हुनु अगाडि २०७६ फागुनमा ११.८० प्रतिशत थियो । कोभिडमा करिब ७ महिना आर्थिक गतिविधि सुस्त हुँदा बैंकिङ प्रणालीमा अधिक तरलता भएर कर्जाको ब्याजदर एकल अंकमा झरेको थियो । कोभिडको राहत तथा पुनरुत्थानलाई सहयोग गर्न भन्दै नेपाल राष्ट्रले बजारमा ठूलो मात्रामा तरलता प्रवाह गरेको थियो ।