‘पोखरा विमानस्थल सञ्चालनमा आइसक्यो, अन्तर्राष्ट्रिय उडान नहुँदा पर्यटक भएनन्’

Machchapuchchre

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आसन्न चीन भ्रमणमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनलाई प्राथमिकता दिन व्यवसायीले माग गरेका छन्।विमानस्थल सञ्चालनमा आएको आठ महिना बितिसक्दा समेत एउटा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको भन्दै व्यवसायीले उक्त माग राखेका हुन्। विमानस्थल जनवरी १ देखि सञ्चालनमा छ।प्रधानमन्त्री प्रचण्ड आगामी सेप्टेम्बर २१ देखि चीन भ्रमणमा जाँदैछन्। अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन उनी सेप्टेम्बर १६ मा अमेरिका प्रस्थान गर्दैछन्। न्युयोर्कबाट सिधै चीन जाने उनको भ्रमण तालिका छ।चीन भ्रमणका बेला पोखरा विमानस्थल सञ्चालनलाई प्राथमिकता दिन आग्रह गरिएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले बताए।  ‘विमानस्थल सञ्चालनको विषय प्रधानमन्त्रीले एजेण्डा बनाउनुपर्छ भन्ने हाम्रो माग हो,’ उनले भने, ‘विमानस्थलको ऋण तिर्न मात्र होइन, हाम्रो पर्यटन बजार जोगाउन पनि पोखरा–चीन सिधा उडान आवश्यक छ।’पोखरा उद्योग वाणिज्य संघले प्रधानमन्त्रीको भारत भ्रमणमा पोखराका एजेण्डा समावेश गर्नुपर्ने भन्दै सोमबार अन्तर्क्रिया आयोजना गरेका थिए।कार्यक्रमका सहभागी व्यवसायीहरूले विमानस्थल सञ्चालन पहिलो एजेण्डा हुनुपर्ने बताएका थिए।यसअघि भारत भ्रमणका बेला प्रचण्डले पोखरा विमानस्थल सञ्चालनबारे एजेण्डासमेत नराखेको भन्दै पोखराका व्यवसायी रूष्ट छन्।पोखराबाट भारतका विभिन्न सहरमा उडान गर्न बुद्ध एयरले अनुमति मागे पनि भारतले दिएको छैन। सरकारले कूटनीतिक पहल नगर्दा पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेको मुल्मीले बताए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पहिलो अन्तर्राष्ट्रिय उडान चीनको सिचुवान एयरलायन्सले गरेको थियो।पोखरामा आयोजित ड्रागन बोट रेस फेष्टिभलमा भाग लिन आउने चिनियाँ नागरिक बोकेर उक्त चार्टर विमान असार ६ गते पोखरामा अवतरण गरेको थियो। त्यसपछि कुनै पनि अन्तर्राष्ट्रिय उडान पोखराबाट भएको छैन।पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न सरकारले नै पहल नगरेको पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताए।‘सरकारले चाह्यो भने नेपाल एयरलायन्सबाट अन्तर्राष्ट्रिय उडान गर्न सक्छ,’ उनले भने, ‘सरकारले नै विमानस्थल चलाउन पहल गरेको देखिएन।’विमानस्थल सञ्चालनसँगै चिनियाँ पर्यटकलाई आकर्षण गर्न सरकारले भिसा फ्रि दिनुपर्ने पनि व्यवसायीको माग छ।कोभिडपछि विश्वका विभिन्न देशले पर्यटक तान्न यस्ता ‘अफर’ दिएको भन्दै उनीहरूले नेपाल सरकारले पनि आउँदो सिजनमा पर्यटक आकर्षण गर्ने प्याकेज घोषणा गर्नुपर्ने उनीहरूको माग छ।पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले पोखराबाट अन्तर्राष्ट्रिय विमानस्थल चलाउन सरकारलाई दबाब दिनुपर्ने अवस्था आएको बताए।विमानस्थल सञ्चालन गर्न सरकार उदासिन भइरहेको उनको भनाइ छ।विमानस्थल सञ्चालनसँगै नेपाल–चीन जोड्ने मुस्ताङको कोरला नाका सञ्चालन, पोखरामा चिनिया लगानी, प्रविधि हस्तान्तरण लगायतका विषय छनौट गरेर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने व्यवसायीको तयारी छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्