अर्थ राजनीति ~ पछिल्लो समय बैंकिङ कसुर सम्बन्धी मुद्दामा पक्राउ पर्नेहरूको सङ्ख्या बढ्दो छ । काठमाडौं जिल्लाको मात्रै तथ्यांक हेर्दा पनि एक महिनामै पाँच सय भन्दा बढी बैंकिङ कसुरका मुद्दा दायर भएको देखिन्छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चालू आर्थिक वर्षको पहिलो साउन महिनामा काठमाडौंमा मात्रै ५६० वटा मुद्दा दायर भएका छन् । गत आवको सोही अवधिमा यस्ता मुद्दाको सङ्ख्या ५१६ रहेको थियो ।
यस मुद्दामा पक्राउ पर्ने भन्दा फरार हुनेको सङ्ख्या धेरै रहेको छ । साउन महिनामा बैंकिङ कसुरमा २१२ जनालाई प्रहरीले पक्राउ गरेको छ भने अन्य फरार सूचीमा रहेका छन् । गत आवको सोही अवधिमा यस्ता मुद्दामा ८१ जना पक्राउ परेका थिए ।
गत साउन महिनामा विभिन्न अपराधमा एक हजार २७५ वटा मुद्दा दर्ता भएका छन् । जसमा ७६० जना पक्राउ परेका छन् । यसमध्ये पनि सबैभन्दा बढी बैंकिङ कसुरका रहेका छन् । गत आवको सोही अवधिमा एक हजार ४७ वटा मुद्दा दर्ता भएकोमा ७४१ जना पक्राउ परेका थिए ।