सेयर बजारमा उत्साह, ६ महिनायताकै उच्च कारोबार

Machchapuchchre

अर्थ राजनीति  ~  सेयर बजारमा ६ महिनायताकै उच्च कारोबार भएको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) पर्याप्त हुँदै जाँदा सेयर बजारमा उत्साह थपिएको हो, जसका कारण बजारमा ६ महिनायताकै उच्च कारोबार भएको हो ।विगतमा निकै गिरावट आएको सेयर बजार पछिल्ला केही समयदेखि पुनः वृद्धिको दिशामा अगाडि बढिरहेको छ । गत साता केही सुस्त देखिएको बजारले यस साताको सुरूको दिन नै आक्रामक वृद्धि गरेको हो । आइतबार नेप्से परिसूचक ६३.२१ अंकले बढ्दै २११७.७३ विन्दुमा पुगेको छ, जुन ३.०३ प्रतिशतको वृद्धि हो ।बजार रफ्तारमा बढ्दा कारोबार पनि बढेको छ । आइतबार ६ अर्ब ४९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । यो काराबोर ६ महिनायताकै उच्च हो । यसअघि गत पुस २६ मा ७ अर्ब ६५ करोडको कारोबार भएको थियो । त्यसदिन सेयर बजार २२७७ बिन्दुमा पुगेको थियो ।त्यसयता सेयर कारोबार निरन्तर घटेको थियो । गत वैशाख २८ मा ५७ करोड रुपैयाँको मात्रै सेयर कारोबार भएको थियो । जेठ १ मा नेप्से परिसूचक पनि १८०७ बिन्दुमा झरेको थियो ।

निरन्तर घट्दै गएको बजार जेठ २ बाट क्रमशः बढेको हो । आइतबार नेप्से परिसूचक चार महिनायताकै उच्च बिन्दुमा पुगेको हो । यसअघि फागुन २ मा नेप्से परिसूचक २ हजार ११७.७३ मा पुगेको थियो ।नेप्सेका कम्पनी सचिव मुराहरि पराजुलीले सेयर बजारको पछिल्लो अवस्था सकारात्मक रहेको बताए । उनले भने, “विगतमा एकै दिनमा २२ अर्ब पनि कारोबार भएको थियो । अहिले न्यून छ । यद्यपि लगानीकर्ता उत्साहित हुँदै गएको र कारोबार बढ्दै गएको देखिन्छ ।” अहिले परिसूचक र कारोबार रकम पनि बढ्दो रहेको उनले बताए ।आइतबार बजारमा उच्च कारोबार हुँदा शिवम् सिमेन्ट, सोल्टी होटल, हिमालयन डिष्ट्रिलरी, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल टेलिकम, सूर्यज्योति लाइफ इन्स्योरेन्सलगायतको उच्च कारोबार भएको छ । बजार उल्लेख्य बढ्दा एक दर्जन कम्पनीको सेयर मूल्यमा आइतबार सकारात्मक सर्किट लागेको छ । विभिन्न कम्पनी तथा म्युचुअल फन्डहरूको सेयर मूल्य करिब १० प्रतिशतले बढेको हो । पछिल्ला दिनमा बैंकिङ प्रणालीमा तरलता बढ्दै गर्दा ब्याजदर पनि घट्न थालेको छ । घट्दो ब्याजदरमा कर्जा पाउन थालेपछि लगानीकर्ता निर्धक्क लगानीका लागि बजार प्रवेश गर्न थालेको विश्लेषकहरू बताउँछन् । तरलता बढेर कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८३.९६ प्रतिशतमा आइसकेको छ । यस्तै, अन्तरबैंक ब्याजदर पनि ४ प्रतिशतभन्दा तल झरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसकारण एक सातामै राष्ट्र बैंकले दुई पटक रिभर्स रिपो जारी गरी प्रणालीबाट ३० अर्ब तरलता तानिसकेको छ ।

यसबाहेक असारमा सरकारको खर्च पनि तीव्र हुन्छ र बैंकिङ प्रणालीमै आउँछ । यस्तै, निक्षेपको लागत घट्दा बैंकहरूले कर्जाको ब्याजदर पनि घटाइरहेका छन् । गत माघमा १३ प्रतिशत पुगेको कर्जाको औसत दर वैशाखमा १२.६५ प्रतिशतमा झरेको छ । असारसम्ममा स्प्रेड दर ४ प्रतिशतसम्म कायम गर्नुपर्ने भएकाले कर्जाको दर अझै घट्नेछ । यस्तै, निक्षेपको ब्याजदर घटेकाले आधार दर पनि घटेर वैशाखमा १०.२७ पुगेको छ । यसबाहेक अर्थतन्त्रको बाह्य क्षेत्रमा पनि उल्लेख्य सुधार हुँदा यसको सकारात्मक असर बजारमा देखिन थालेको छ ।सबै सूचक सकारात्मक हुँदै जाँदा बजार लयउन्मुख भएको अन्तर्राष्ट्रिय पुँजी बजार विश्लेषक मुक्ति अर्याल बताउँछन् । उनले भने, “अहिले सेयर बजारमा लगानी गर्नका लागि कर्जा पनि सहजै पाउने अवस्था बनेको छ, जसकारण पनि बजार लयमा फर्कने क्रममा छ ।” सेयर बजारमा अबको लक्ष्य २ हजार २ सयको बिन्दु पुग्ने भएको उनले उल्लेख गरे । डाइ गर्ने अवस्था नरहेको भन्दै उनले भने, “जति कडाइ भयो, भइसक्यो । अब थप कडाइ गर्ने ठाउँ छैन, त्यसैले लगानीकर्ता ढुक्क छन् ।” अध्यक्ष ढकालले बढ्दो परिसूचकलाई कारोबार रकमले पनि साथ दिएर अगाडि जाँदा बजार वृद्धिले केही समय निरन्तरता पाउने समेत बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्