सहकारीको अर्बौ ठगीको मुद्दा सीआइबीमा

Machchapuchchre

अर्थ राजनीति ~ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआइबी) करौडौं रुपैयाँ ठगी भएको सहकारी अनुसन्धानमा जुटेको छ। गम्भीर र विशेष प्रकृतिको अनुसन्धानको लागि खडा भएको सीआइबीले आर्थिक अपराधसँग जोडिएका घटनाको पनि अनुसन्धान गर्छ। तर पछिल्ला समयमा सहकारी ठगीमा धेरै समय सीआइबीले खर्चिएको छ।अहिले पनि सीआइबीमा हाई प्रोफाइल सहकारी ठगीका फाइलहरू पुगेका छन्। जसमा केहीको अनुसन्धान भइरहेको छ भने केही सहकारीको फाइल खोल्ने तयारीमा छ। सहकारी विभागबाट खोजीका लागि पुगेको पत्रको आधारमा अनुसन्धान थालेको छ।ललितपुरको कुमारीपाटीमा रहेको पशुपति बचत तथा ऋण सहकारी संस्थाको फाइल सीआइबीमा पुगेको छ।लगानीकर्ताको लाखौं रुपैयाँ जोखिममा परेर सम्पर्कविहीन भएपछि पीडितले सहकारी विभागमा उजुरी दिएका थिए। विभागले सहकारीसँग विभिन्न कागजपत्र मगाएको थियो। तर समयमा नै सहकारीले पेस गर्न सकेन। त्यसपछि विभागले अनुसन्धानको लागि सीआइबीलाई गुहारेको थियो।संचालक लामा अहिले प्रहरीको सम्पर्कमा छैनन्। उनलाई प्रक्रिया मिलाएर अनुसन्धानमा तानिने भएको छ। पशुपति सहकारीले कानुनले दिएको अधिकार बाहिर गएर लगानी गरेको देखिएको छ।  सहकारीका ९ मध्ये ७ जना सञ्चालक फरार छन्। उनीहरू सबैको ठगी प्रकरणमा खोजी भइरहेको छ। सहकारीको काठमाडौं उपत्यकाबाहिर पनि विभिन्न जिल्लामा शाखा छ। ३५ वटा जिल्लामा यसको शाखा छ।सीआईबीको टोलीले वैशाख २७ गते सहकारीका दुई संचालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। पक्राउ पर्नेमा बाँके कोहलपुरकी गीता शर्मा र बझाङका पुष्कर मल्ल छन्। गीता शिखर अर्गनाइजेसनकी निर्देशक हुन्। उनी सहकारीका पूर्व अध्यक्ष केदारनाथ शर्माकी श्रीमती हुन्। केदार भने फरार छन्। त्यस्तै सहकारीका सीइओ लीलानाथ गौतम पनि प्रहरीको खोजी सूचीमा छन्। त्यस्तै बुढानिलकण्ठमा रहेको एकता बुद्ध बचत तथा ऋण सहकारी संस्थाको फाइल पनि सीआइबीले हेरिरहेको छ। गत चैत ९ गते सहकारी विभागले अनुसन्धानको लागि सीआइबीलाई पत्राचार गरेको थियो। अहिलेसम्मको अनुसन्धानमा १ सय ७७ जना निक्षेपकर्ताले सहरकारीविरुद्ध उजुरी दिएका थिए। त्यस्तै सीआइबीले अन्य ६ वटा सहकारीको ठगीको फाइल पनि हेर्न थालेको छ। जसमा लालीगुराँस सहकारी सस्था पनि छ। बुढानिलकण्ठमा रहेको रियल गोर्खा ऋण तथा बचत सहकारी संस्थाको पनि अनुसन्धान गर्न सहकारी विभागबाट पत्राचार भएको छ। बानेश्वरमा रहेको संध्या ऋण तथा बचत सहकारी संस्था, हरित कृषि सहकारी र चुच्चेपाटीमा रहेको इभर ट्रस्ट सहकारी संस्थाविरुद्ध पनि उजुरी परेकाले सीआइबीले अनुसन्धान गरिरहेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्