महामन्त्री पदबाटै राजीनामा दिने मनस्थितिमा थापा–शर्मा

Machchapuchchre

अर्थ राजनीति  ~  कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आफ्नै पार्टी सभापति शेरबहादुर देउवाका गलत निर्णय र कामको साक्षी नबस्ने, बरु विद्रोह गरेर भए पनि पार्टीको शुद्धीकरण अभियानमा जुट्ने उद्घोष गरेका छन् । देउवा सभापति निर्वाचित भएको १७ महिनाको अवधिमा नेतृत्वले महामन्त्रीको हैसियत र अस्तित्वलाई स्वीकार नगरेको भन्दै थापा र शर्माले पार्टी रूपान्तरण गर्न आवश्यक परे महामन्त्री पदबाट राजीनामा दिने मनस्थिति समेत बनाएका छन् । पछिल्लो पटक मन्त्री छनोटको विषयलाई लिएर चिढिएका महामन्त्रीद्वयले आइन्दा नेतृत्वले गर्न नसकेका र गरेका गलत कामको भारी आफूहरूले नबोक्ने भन्दै वैशाख २२ मा धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमै देउवालाई चेतावनी दिएका थिए । स्रोतका अनुसार देउवाले एकलौटी निर्णय गरेको भन्दै महामन्त्री थापाले आफ्नै हिसाबले अघि बढ्ने चेतावनी पदाधिकारी बैठकमा दिएका थिए । ‘तपाईंले कुनै कुरामा सहभागी गराउनुभएको छैन, अनावश्यक कुराको भारीबोक्दैनौं,’ थापाले भनेका थिए, ‘तरुण दल, महिला संघ, नेविसंघ र राष्ट्रिय सभाको उम्मेदवारीजस्ता सारा विषयमा एक्लै निर्णय गर्नुभयो, तपाईंले कुनचाहिँ कुरामा सल्लाह गर्नुभएको छ ? हामी निर्वाचित महामन्त्री हौं तर महामन्त्रीजस्तो व्यवहार गर्नुभएको छ ? जे गर्नुपर्छ, म आफ्नो हिसाबले गर्छु ।’ थापाले आइतबार सामाजिक सञ्जाल ट्वीटरमा सभापतिलाई लक्षित गर्दै आक्रोशपूर्ण ट्वीट गरेका छन् । जसमा पार्टीभित्रै विद्रोह गर्ने संकेत गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्