सरकारविरुद्ध सडक संघर्षमा जाने राजेन्द्र लिङ्देनको चेतावनी

Machchapuchchre

अर्थ राजनीति   ~  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मिटरब्याज पीडित र तराईमा आन्दोलनरत हरुवाचरुवाको माग तत्काल सम्बोधन नगरे सरकारविरुद्ध सडक संघर्षमा जाने चेतावनी दिएका छन् । मंगलबार प्रतिनिधिसभामा आकस्मिक समय लिएर बोल्दै उनले मिटरब्याज पीडितहरुको मागलाई सम्बोधन गर्नुको साटो सरकारले उनीहरुमाथि हिजो (सोमबार) निर्मम ढङ्गले आक्रमण गरेको उल्लेख गर्दै निन्दा र भर्त्सना समेत गरे । गरिब र निमुखा ती मानिसहरूमाथि किन आक्रमण गर्नु परेको भनी सरकारलाई अध्यक्ष लिङ्देनले प्रश्न समेत गरे  । उनले सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्ने सपना बाँडेर हिँडेको पार्टी नेतृत्वको सरकारले पनि उनीहरुमाथि आक्रमण गर्ने काम गर्नु आपत्तिजनक रहेको बताए । उनले भने,  ‘देशमा कसैले पनि अन्यायमा पर्नु पर्दैन । कसैले पनि हेपिनु पर्दैन । राज्य अभिभावक छ भनेर राज्य अभिभावकको रुपमा उभिनुपर्नेमा न्यायको माग गर्दै आएका मिटरब्याज पीडितहरुलाई सरकारले हिजो जुन निर्मम ढङ्गले आक्रमण गरेको छ । त्यसको म निन्दा र भर्त्सना गर्न चाहन्छु । यतिबेला ती निमुखा मानिसहरूमाथि आक्रमण भएको छ । जसले समाजमा गरिबहरूको अथवा सर्वहारा वर्गको अधिनायकत्व स्थापना हुनेछ, स्थापना गर्नेछौं भनेर सपना बाँढेको थियो । त्यो सपना बाँडने पार्टी र उसको नेतृत्वमा अहिले सरकार छ । तर यति नै यो गरिब र निमुखामाथि राज्यले किन बर्बर आक्रमण किन भईरहेको छ ? हामी भन्न चाहन्छौंकि सरकारले मिटरब्याज पीडितहरू र अहिले तराईमा आन्दोलनरत रहेका हरुवाचरुवाहरु जो पुनस्थापनाको काम गरिराखेका छन् । उनीहरुको मागलाई सरकारले समयमै सम्बोधन गरोस् । अन्यथा एउटा जिम्मेवार राजनीतिक पार्टीको नाताले उनीहरुको साथमा सडक संघर्षमा जाने घोषणा समेत गर्न चाहन्छु ।’अध्यक्ष लिङदनले पीडित पक्षको अभिभावकीय भूमिकामा सरकार नरहेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्