मन्त्रीबारे देउवाको प्रस्तावले शेखर र गगनबीच मतभेद

Machchapuchchre

अर्थ राजनीति  ~   नेपाली कांग्रेसमा थप चार मन्त्री छान्न सकस देखिएको छ । कांग्रेसभित्र गुटगत विवादका कारण पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । गत शुक्रबार मन्त्रिपरिषद् विस्तार हुँदा कांग्रेसबाट उपप्रधानसहित रक्षामन्त्री सम्हाल्ने गरी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले नेतृत्व गरेका छन् । अर्थमन्त्रीमा प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्तिमा रमेश रिजाल र सहरी विकास मन्त्रीमा सीता गुरुङ नियुक्त भएका छन् । देउवाले सोही दिन शेखर कोइरालाको मनसाय बुझेर उपसभापति धनराज गुरुङ र सांसद डिगबहादुर लिम्बूलाई पनि मन्त्री बनाउन खोजेका थिए । गुरुङ र लिम्बुलाई मन्त्री बनाउने देउवाको सङ्केत पाएपछि महामन्त्री गगन थापासहितका नेताले ३ मन्त्रालय नलिई सरकारमा जान नहुने अडान राखे । शेखर–गगन समूहले तीन मन्त्री पाउनुपर्ने अडान राखेर नाम नदिएपछि देउवाले आफू पक्षीय २ जनाको शपथ पनि रोकिदिएका थिए ।

Nabil bank

प्रधानमन्त्रीसँग रहेका ६ मन्त्रालयमध्ये कांग्रेसका भागमा कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय छ  । शेखर–गगन समूहले तीन मन्त्रालय नपाएसम्म मन्त्रीको नाम नपाउने अडान लिएपछि कांग्रेस सभापति देउवा पनि दबाबमा छन् । आफ्नो पक्षबाट नेता एनपी साउद र मोहन बस्नेतलाई मन्त्री बनाउने देउवाको तयारी छ । यो बिचमा सभापति देउवाले नेता शेखर कोइराला र महामन्त्री गगन थापासँग संवाद गरेका छन् । पहिले दुई मन्त्रीको प्रस्ताव गरेका देउवाले शेखर–गगन पक्षलाई एक राज्यमन्त्री समेत थप्ने तयारी गरेका छन् । दुई मन्त्री र एक राज्यमन्त्री दिने देउवाको प्रस्तावमा नेता शेखर कोइराला सकारात्मक छन् । महामन्त्री थापा भने देउवाको उक्त प्रस्ताव स्वीकार गर्ने पक्षमा छैनन् । थापाले भने, ‘पछिल्लो छलफलमा पनि सभापतिले दुई मन्त्री मात्र दिने कुरा गर्नु भयो । दुई वटामा मान्दै मान्दैनौं ।’ महामन्त्री थापाले नेता कोइरालालाई आफू पक्षीय सांसदको बैठक बोलाएर रणनीति तय गर्नुपर्ने भनेका थिए । महामन्त्री थापासँगको संवादमा सांसदहरुको बैठक बोलाउन कोइराला राजी थिए । तर बुधबार नेता कोइरालाले इच्छा नदेखाएपछि बैठक बस्न सकेन । आफ्नो पक्षबाट मन्त्री छनोटको मापदण्ड बनाउनुपर्ने महामन्त्री थापाको भनाइ थियो । उपसभापति धनराज गुरुङ र मोरङ जिल्ला सभापति डिकबबहादुर लिम्बुलाई मन्त्री बनाउने मुडमा रहेका नेता कोइराला मापदण्ड बनाउने पक्षमा छैन । शेखर–गगन समूहभित्र कसलाई मन्त्री बनाउने भन्ने विषयमा नेता कोइराला र महामन्त्री गगन थापाबिच विवाद छ । महामन्त्री थापा सहमहामन्त्रीद्वय बद्री पाण्डे, जीवन परियार र नेता प्रदीप पौडेलमध्ये एकलाई मन्त्री बनाउन चाहन्छन् । महामन्त्री थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि साथ दिएको अवस्था छ । संसदीय दलको नेतामा देउवासँग प्रतिस्पर्धा गरेका थापा पार्टीभित्र मन्त्री छनोटमा ‘पावरसेयरिङ’ खोजिरहेका छन् । यसका लागि महामन्त्री थापाले सभापति देउवाका साथै नेता कोइरालासँग पनि संघर्ष गर्नु परेको छ । सभापति देउवाले तीन मन्त्री नदिने प्रस्ट संकेत दिएपछि दुई मन्त्री र एक राज्यमन्त्री छनोट गर्न शेखर–गगन समूहलाई सकस परेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्