एनआईसी एसिया मर्जर पार्टनर खोज्दै

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकको दबाबपूर्ण मर्जर नीतिलाई कतिपय ठूला बैंकहरुले स्वीकार गरिसकेका छन् । बाँकी रहेका केही चर्चित बैंकहरुको मर्जरको चर्चाले अहिले पनि बजार भने तातिरहेको छ । तुरुन्तै मर्जरमा जानुपर्ने दबाबमा रहेको एउटा ठूलो बैंक हो, एनआईसी एसिया बैंक । तर, सो बैंकसंग मर्जरमा जाने इच्छा भने कुनै बैंकहरुले देखाइरहेका छैनन् । एनआईसी एसिया बैंकले आफू सिद्धार्थ बैंकसंग मर्जरको तयारीमा रहेको बजार हल्ला चलायो । जसलाई सिद्धार्थ बैंकले औपचारिक रुपमा नै खण्डन गरिसकेको छ । सिद्धार्थ बैंकले एनआईसी एसिया बैंकको मर्जर प्रस्ताव औपचारिक रुपमा प्रवेश गर्नु पूर्व नै अस्वीकार गरेपछि अहिले एनएमबि बैंकसंग साइनो जोड्न लागेको भन्ने खबर फेरि बजारमा फिँजाएको छ। तर, त्यो हल्ला समेत यथार्थमा परिणत नहुने निश्चित भएको छ । एनएमबि बैंक कुनै पनि नेपाली बैंकसंग मर्जरमा जाने सोचमा नरहेको सो बैंकका अध्यक्ष पवन गोल्यानले स्पष्ट पारेसँगै एनआईसी एसिया बैंकको अर्को एउटा सपना तुहिएको हो ।

यसरी मर्जरबारे आन्तरिकरुपमा समेत छलफल नगरी एनएमबि बैंकले पीठ फर्काएपछि एनआईसी एसिया बैंकमा भने तनाव थपिएको सो बैंक सम्बद्ध स्रोतको भनाइ छ । त्यसो त एनआईसी एसिया बैङ्कप्रति एनएमबि लगायत अन्य बैंकहरुले चासो नराख्नुको अर्को पनि एक कारण रहेको छ । नेपालको बैंकिङ क्षेत्रलाई नजिकबाट नियालिरहेका एक अध्येताले भने, ‘एउटा अध्ययन रिपोर्टले सबै बैंकहरुको असलियत देखाएको छ । सार्वजनिक नगरिएको सो रिपोर्टमा एनआईसीको अवस्था निकै दयनीय रहेको देखिन्छ ।’ उनका अनुसार सो अध्ययन रिपोर्टको सूक्ष्म अध्ययन गरिसकेको कारण पनि हुनसक्छ, गोल्यान र उनको बैंक एनएमबि एनआईसीको छेउ पर्ने कल्पना समेत गरिरहेका छैनन् । हाल उद्योग वाणिज्य महासङ्घको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा लागि प्रतिस्पर्धामा उत्रिएका रामचन्द्र संघाई समेत सञ्चालक रहेको एनआईसी एसिया बैंकका सञ्चालकहरूले गोल्यान र संघाइ दुवै माडबाडी समुदायका भएकोले सजिलै मर्जरको कुरा मिल्ने भन्ने भाष्य बजारमा स्थापित गराएका थिए । गोल्यानले मर्जरको सम्भावनालाई पूर्णरुपमा नकारेपछि भने त्यो भाष्य समेत ‘मनको लड्डु’ मात्रै रहेछ भन्ने पुष्टि भएको छ । उता गोल्यान भने बरु अर्को नयाँ विदेशी बैंकलाई साझेदारका रुपमा भित्र्याउने योजनामा रहेको बताउँछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्