प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदमा विश्वासको मत लिदै

Machchapuchchre

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यति छिट्टै संसदमा विश्वासको मतका लागि फेरि अनुरोध गर्नुपर्ने अवस्था आउला भन्ने आफूले नसोचेको बताएका छन्। उनले गत पुस २६ गते विश्वासको मत लिएका थिए। त्यसबेला नेमकिपा र राष्ट्रिय जनमोर्चाबाहेक सबै दलका सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका थिए। तर यसबीचमा नेकपा एमाले र राप्रपाले सरकार छाड्ने र समर्थन फिर्ता लिने निर्णय लिएपछि प्रधानमन्त्रीले आज प्रतिनिधि सभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेका छन्। ‘फेरि विश्वासको मतका लागि यति छिट्टै संसदसँग अनुरोध गर्नुपर्ने अवस्था आउला भन्ने मैले सोचेको थिइनँ,’ प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले भने, ‘राजनीतिक स्थिरता दिने प्रतिवद्धतासहित सरकार गठन गरिएको थियो। सहयात्री सबै दलले स्थायित्व बाचा गरेका पनि थिए।’ पुस १० मा एमालेसहित ७ दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएका थिए। तर फागुन १२ मा राष्ट्रपति निर्वाचनमा माओवादीले कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको थियो। त्यसपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिई मन्त्रीसमेत फिर्ता बोलाएको थियो। राप्रपाले पनि मन्त्री फिर्ता बोलाई समर्थनसमेत फिर्ता बोलाएको थियो। ‘प्रधानमन्त्री र मन्त्रीबीच नीतिगत तथा कार्यशैलीगत कुनै मतभेद थिएन,’ उनले भने, ‘मन्त्रिपरिषद बैठक सधैं सौहार्दपूर्ण रह्यो, व्यक्तिगत सम्बन्ध सुमधुर थिए।’ आफू नेतृत्वको सरकारले जनतामा नयाँ आशा जगाएको दाबीसमेत प्रचण्डको छ। राष्ट्रपति नेपाली कांग्रेसलाई दिन आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रस्ताव गरेको पनि उनले बताए। ‘राष्ट्रपति राष्ट्रिय सहमतिमै चयन गर्ने प्रस्तावपछि एमाले र राप्रपाले अचानक सरकारबाट र समर्थन फिर्ता लिनुभयो,’ उनले भने, ‘सरकार गठन भएको २ महिनामै समर्थन फिर्ता लिने र सरकारबाट हट्ने निर्णय कति राजनीतिक हो ती दलहरूले प्रतिरक्षा गर्नुहोला, जनताको मूल्यांकन होला।’ उनले एमाले र राप्रपा अस्थिर भएको पनि बताए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्