तेस्रो राष्ट्रपतिको लागि पूर्वसभामुखद्वय नेम्वाङ र पौडेल भिड्दै

Machchapuchchre

अर्थ राजनीति  ~  गणतन्त्र नेपालको चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति पदमा बिहीबार मतदान हुँदैछ । निर्वाचन आयोगले संसद भवन नयाँबानेश्वरमा बिहीबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । आगामी पाँच वर्षका लागि हुने राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ प्रतिष्पर्धामा हुनुहुन्छ । राष्ट्रपतिका दुवै उम्मेदवार पूर्वसभामुख हुनुहुन्छ । राष्ट्रपति पदमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गर्दै पौडेललाई उम्मेदवार बनाएका हुन् । एमालेले भने एक्लै नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको हो । रामचन्द्र पौडेलसँग एक कार्यकालको सभामुखको अनुभव छ भने नेम्वाङसँग संविधानसभा अध्यक्षको दुई कार्यकालको अनुभव रहेको छ । रामचन्द्र पौडेल २०५१ साल पुस ३ गतेदेखि २०५५ साल चैत ९ गतेसम्म सभामुख हुनुहुन्थ्यो भने सुवासचन्द्र नेम्वाङले २०६५ साउन १२ देखि २०६९ साल जेठ १४ गतेसम्म पहिलो कार्यकाल संसदको नेतृत्व गर्नुभएको थियो । उहाँले २०७० फागुन ६ गतेदेखि २०७२ साल असोज २७ गतेसम्म दोस्रो कार्यकाल सभामुख भएर संसदको नेतृत्व गर्नुभएको थियो । राष्ट्रपतिका दुवै उम्मेदवार नेपाली राजनीतिमा लामो समयदेखि रहेका र खारिएका नेता मानिनुहुन्छ । दुवै नेता संसदीय राजनीति बारे दख्खल राख्ने नेता पनि हुनुहुन्छ । दुवै नेताको समानता शालीनता पनि हो ।

पौडेल र नेम्बाङ संसदीय राजनीतिमा सँगसँगै हुनुहुन्छ । रामचन्द्र पौडेल २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७९ सालको चुनावमा तनहुँबाट निर्वाचित हुनुभएको थियो भने २०७४ सालमा पराजित हुनुभएको थियो । २०४७ पछिका आमनिर्वाचनमा ६ पटक प्रतिनिधि सभा सदस्य निर्वाचित भएका पौडेलले सभामुखका अलावा स्थानीय विकास, कृषि तथा सहकारी, गृह, सञ्चार, जलस्रोत, शिक्षा र शान्ति पुनः निर्माण मन्त्रालयसहित धेरै पटक उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको छ । त्यस्तै, सुवास नेम्वाङ २०४८ देखि २०५२ सालसम्म राष्ट्रिय सभा सदस्य हुनुहुन्थ्यो । २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा निर्वाचित हुनुभयो । २०५६ सालमा प्रतिनिधिसभा सदस्यको चुनाव जितेपछि उहाँले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापतिको जिम्मेवारी निर्वाह गर्नुभयो । राष्ट्रपतिको निर्वाचनमा संघीय र प्रदेशतर्फका ८ सय ४२ सांसदले मतदान गर्नेछन् । संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको ४८ छ । सबै उम्मेदवारको मतभार जोड्दा ५२ हजार ७८६ हुन्छ र राष्ट्रपति निर्वाचित हुन बहुमत अर्थात २६ हजार ३९४ मतभार चाहिन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्