नयाँ सरकारमा मन्त्री बन्न गठबन्धन दलका नेताहरु दौडधुपमा

Machchapuchchre

अर्थ राजनीति  ~  पुस १० मा बनेको सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेसँगै माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ‘प्रचण्ड’ नेतृत्वको सरकारमा मन्त्री बन्न गठबन्धन दलका नेताहरु दौडधुपमा लागेका छन् । यस्तो दौडमा कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी लगायत दलका नेताहरु लागि परेका छन् । मन्त्रीका आकांक्षीहरु शीर्ष नेताहरुलाई भेटेर आफ्नो पक्षमा माहोल बनाउने प्रयासमा लागेका छन् । नेकपा एमालेले सोमबार सरकार छाडेसँगै १६ वटा मन्त्रालय मन्त्रिविहीन बनेका छन् । एमालेअघि राप्रपा र रास्वपाले पनि सरकार छोडिसकेका छन् । आफु नेतृत्वको सरकार गठन हुँदा समर्थन गरेका दलहरुले सरकार छोडेपछि प्रधानमन्त्री प्रचण्डले नयाँ दलहरुलाई समेटेर मन्त्रिमण्डललाई पूर्णता दिने र विश्वासको मत लिने तयारी गरेका छन् । त्यसका लागि आठ दलीय गठबन्धनका शीर्ष नेताहरुमा सामान्य छलफल भएपनि ठोस छलफल अघि बढिसकेको छैन । मन्त्रिमण्डल विस्तार र विश्वासको मत लिने काम राष्ट्रपति निर्वाचन अघि गर्ने कि पछि गर्ने ? भन्नेमा सत्ता साझेदार दलहरुसँग प्रधानमन्त्री प्रचण्डले छलफल गर्ने तयारी गरेका छन् । एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल आठ दलीय गठबन्धन बन्दा पावर शेयरिङबारे खासै छलफल नभएको बताउछन् ।’त्यस्तै माओवादी केन्द्रका नेता शक्ति बस्नेतले पनि गठबनधनका कुन कुन दल सरकारमा सहभागी हुने र ककसले कुन मन्त्रालय पाउने भन्ने छलफल सुरु नै नभएको बताए ।

आठ दलीय गठबन्धनमध्येको नेकपा एकीकृत समाजवादीले सरकारमा जाने निर्णय गरिसकेको छ । त्यसका लागि  अर्थसहित भौतिक योजना मन्त्रालय दावी गर्ने तयारी गरेको अध्यक्ष माधवकुमार नेपाल निकट स्रोतले जनाएको छ । ‘हामी यो सरकारमा जाने निश्चित छ । तर कुन कुन मन्त्रालयसहित जाने भन्ने कुरा प्रधानमन्त्रीसँग छलफल भएपछिमात्रै थाहा हुन्छ । एमालेले सरकार छोडेपछि अर्थ खाली छ भने भौतिक माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सम्हाल्दै आएका छन् । पछिल्लो समिकरणपति श्रेष्ठलाई गृहमा पठाउने प्रधानमन्त्री प्रचण्डको तयारी रहेको बुझिएको छ । एकीकृत समाजवादीबाट सरकारमा जाँदा कसको नेतृत्वमा जाने भन्ने पार्टीभित्र छलफल भइनसकेको उपमहासचिव जगन्नाथ खतिवडा बताउँछन् । तर उपाध्यक्ष राजेन्द्र पाण्डे र उपमहासचिव प्रकाश ज्वालामध्ये एकले पार्टीबाट सरकारको नेतृत्व गर्ने सम्भावना रहेको नेताहरुको भनाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्