सत्ता गठबन्धन फेरिने संकेत देखिदै

Machchapuchchre

अर्थ राजनीति  ~  पुस १० मा बनेको सत्ता गठबन्धन आगामी फागुन २५ गते हुने राष्ट्रपतिको चुनावसम्म फेरिने संकेतहरू देखिन थालेका छन् । सरकार निर्माण भएको २ महिना नपुग्दै राष्ट्रपतिको चुनावसम्म समीकरण फेरिन सक्ने नेताहरूका अभिव्यक्ति र केही घटनाक्रमले समेत संकेत गरेका छन् । राष्ट्रपतिको चुनावमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री समेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै दलको सहमति हुनुपर्ने अडान लिएका छन् । विगतका राष्ट्रपतिका अनुभवहरूलाई समेत नजिर बनाउँदै प्रचण्डले राष्ट्रपतिमा सबै दलको साझा उम्मेदवार हुनुपर्ने सार्वजनिक अभिव्यक्ति दिएका हुन् । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री आलोपालो गर्ने र  राष्ट्रपतिमा माओवादीले एमालेलाई सघाउने समझदारी भएको एमाले नेताहरूको दाबी रहने गरेको छ । तर, प्रचण्डले गत पुस २६ मा संसदबाट विश्वासको मत लिने क्रममा सत्ता साझेदार दलसहित नेपाली कांग्रेसको समेत मत पाएपछि राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउन थालेका हुन् । सबै दललाई मान्ने हुने गरी एमाले आफैले राष्ट्रपतिको नाम प्रस्ताव गरेपनि स्वीकार हुने प्रधानमन्त्री प्रचण्डको भनाई छ । ‘राष्ट्रपतिका विषयमा ठोस छलफल र निष्कर्षमा पुगिएको छैन । प्रधानमन्त्रीज्यू राष्ट्रपतिमा राष्ट्रिय सहमति नै कायम हुनुपर्छ भन्नेमा अडानमा यथावत् हुनुहुन्छ’ माओवादी केन्द्रका एक मन्त्री भन्छन्, ‘राप्रपाका मन्त्रीले संघीयता र गणतन्त्र विरोधी अभिव्यक्ति दिइरहेका छन् । रास्वपा सरकारबाट बाहिरिएर अप्ठ्यारो पारेको छ । त्यसैमा केपी कमरेडको निरन्तर असहयोग भएकाले यो गठबन्धन ८० प्रतिशत फेरिने सम्भावना छ ।’ एमाले अध्यक्ष ओलीले सभामुखमा जस्तो खालको पात्र र प्रवृत्तिलाई अघि सारे राष्ट्रपतिमा समेत त्यस्तै दोहोरिने सङ्केत पाएपछि प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिमा राष्ट्रिय सहमतिमार्फत अघि बढ्न खोजेको ती मन्त्रीको भनाइ छ । ‘संसदमा कसैको बहुमत छैन । यो संसद् ५ वर्ष पुग्छ भन्ने सुनिश्चितता छैन’ ती मन्त्रीले भने, ‘देश, जनता र व्यवस्थालाई केन्द्रमा राख्ने व्यक्ति चाहिन्छ । विगतका राष्ट्रपतिले पार्टीलाई केन्द्रमा राखेकाले समस्या खडा भयो । त्यसैले जुनसुकै पार्टी वा पात्र भएपनि सबै दललाई मान्य भएमा ठिक हुन्छ भन्ने छ ।’ यदि अहिलेको समीकरण फेरिए पनि कांग्रेस, माओवादी, एकीकृत समाजवादी जुनसुकै दल र नेताबाट राष्ट्रपतिको उम्मेदवार हुनसक्ने ती मन्त्रीको भनाई छ । जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउत समेतले सत्ता गठबन्धन भत्किन सक्ने सङ्केत गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्