” कांग्रेसले अस्थिरता ल्याउन खोज्यो ” : अध्यक्ष ओली

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी ओलीले सत्ता गठबन्धनलाई भत्काएर मुलुकमा अस्थिरता निम्त्याउने खेलमा नेपाली कांग्रेस लागेको आरोप लगाएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले प्रतिनिधिसभाको आइतबार बसेको बैठकको विशेष समयमा कांग्रेसमाथि यस्तो आरोप लगाएका हुन्। ओलीले बोल्नेक्रममा अधिकांश समय कांग्रेस र कांग्रेस नेतृत्वको अघिल्लो सरकारको आलोचनामै खर्चे। ओलीले प्रधानमन्त्री र राष्ट्रपतिमा आफ्नोबाहेक अरूको नेतृत्वलाई स्वीकार गर्न नसकेर प्रतिपक्षमा पुगेको कांग्रेसले सरकार गठन भइसकेपछि प्रधानमन्त्रीलाई हठात् विश्वासको मत दिएको बताए। उनले भने, ‘कांग्रेस हो, उसले सरकारलाई विश्वास गरेको मान्न सकिँदैन। मैले त्यतिबेलै भनेको थिएँ, मतदान गरेको भए त ठिकै हो तर ढोक्सा थापेको हो भने गलत हो। ढोक्सा बेलुका थापिन्छ, अँध्यारोमा माछा मार्ने प्रयास गरिन्छ, बिहान भएपछि रित्तो ढोक्सा बोक्यो, फर्कियो। राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा खिचलो गर्ने उसको उद्देश्य देखिन्छ।

’एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पिँजडामा राखेको कांग्रेस आरोपको प्रतिउत्तर दिँदै ओलीले कटाक्ष गरे। उनले भने, ‘कांग्रेसलाई आफूले सडकमा पुर्‍याएको व्यक्तिलाई एमालेले प्रधानमन्त्री बनाएको चिन्ता छ।’ ओलीले राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा फाइदा उठाउन कांग्रेस लागिरहेको बताए। कांग्रेसले आफू सत्तामा गए मात्रै लोकतन्त्र हुने गलत तर्क गर्दै आएको ओलीको भनाइ थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्