एमसीसी सम्झौताका प्रावधानहरु नेपालको हितमा छैनन् -भीम रावल

Machchapuchchre

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम बहादुर रावलले मेलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका कतिपय प्रावधानहरु नेपालको हितमा नरहेको दाबी गरेका छन् ।

आफू अमेरिकी सहयोग लिन नहुने पक्षमा नरहेको, तर कतिपय विषय दुवै देशले स्पष्ट पार्नुपर्ने बताए । शुक्रबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा पूर्वमन्त्री समेत रहेका रावलले भने, ‘मैले अमेरिकी सहयोग लिनुहुँदैन भनेको होइन, तर सहयोग लिँदा आफ्नो देशको हित, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र स्वाभिमानलाई अक्षुण राख्नुपर्छ ।’

नेपाल सरकार र एमसीसीबीच भएको सम्झौताका कतिपय प्रावधानमा प्रश्न उठाउँदा कतिपयले अल्पज्ञानी भएको भनेर आरोप लगाएको उनको गुनासो थियो । उनले भने, ‘यस्तो भन्नेहरुलाई म भन्न चाहन्छु-यो सम्झौताको मस्यौदा सुरुदेखि अन्त्यसम्म सबैभन्दा बढी पढ्ने व्यक्ति मै हुँ । पढ्दै नपढी जथाभावी बोल्नु हुँदैन, नेपाली जनतालाई अन्धकारमा राख्ने षड्यन्त्र गर्नुहुँदैन ।’

अमेरिकी विदेश मन्त्रालयका सहायक उपमन्त्री डेभिड जे. रेन्जले सन् २०१९ को मे १४ मा र सन् २०१९ को फेब्रअरी १० मा एलिस वेल्सले एमसीसी, एसिया प्यासिफिक रणनीतिकै अंग हो भनेर सार्वजनिक रुपमै बोलेका भन्दै उनले यसबारे सरकारले अमेरिकी सरकारसँग जवाफ माग्नुपर्ने बताए ।

सम्झौताको दफा ७ को १ मा ‘सम्झौता र नेपालको कानून बाझिएमा प्रस्तुत सम्झौता लागू हुनेछ’ भन्ने उल्लेख रहेको भन्दै उनले प्रश्न गरे, ‘कुनै देशसँग गरिएको सम्झौतामा नेपालको कानून बाझिएमा नेपालको कानून नै त्यसको अधिनमा रहने ?’ सम्झौताको धारा ३ दफा ३ मा एमसीसीलाई बौद्धिक सम्पत्तिको अधिकार दिएकोमा पनि उनले प्रश्न उठाए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्