सांसद पक्राउ प्रकरण : गृह मन्त्रालयमाथि नै एमालेको प्रश्न

Machchapuchchre

अर्थ राजनीति  ~ गृह मन्त्रालयले ज्यान मुद्दामा फरार एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरीलाई लिखित निर्देशन दिएको दुई दिन बित्दासमेत उनी फेला परेका छैनन् । गृहमन्त्री रवि लामिछानलेले यसअघि प्रहरीलाई मौखिक आदेश दिँदापनि उनी पक्राउ पर्न नसकेपछि लिखित रुपमै प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलले विज्ञप्तिमार्फत जानकारी दिएका थिए । प्रहरीले उनको खोजी कार्य भइरहेको जनाएपनि पक्राउ भने पर्न नसकेका हुन् । यसैबीच एमालेले  कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कोइरी पक्राउ नपर्नुमा गृह प्रशासन नै मुख्य दोषी रहेको आरोप लगाएको छ । एमालेका सचिव रघुवीर महासेठले अदालतबाट दोषी ठहर भई फरार प्रतिवादीको सूचीमा रहेको सांसदलाई पक्राउ गर्न गृहमन्त्रीले नै निर्देशन दिसकेको अवस्थामा किन पक्राउ गर्न सकिएन भन्दै प्रश्न गरे । यो मामिलामा गृह प्रशासन नै दोषी भएको उनले दाबी गरे । सांसद महतोलाई पार्टीले वा पार्टीका नेताहरुले संरक्षण गरेको आरोपमा कुनै सत्यता नरहेको उनले बताए । कोइरी प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिँदा संसद भवनमा उपस्थित भएका थिए । ‘सांसद संसद भवन छिर्दा पनि प्रहरी बाहिरिँदा पनि प्रहरी हुन्छ । तर पनि उनी पक्राउ नपर्नुमा गृह प्रशासनको मिलोमतो हो’, उनको भनाइ छ ।  तपाईँहरुले संरक्षण गर्दा पक्राउ पर्न नसकेको आरोप छ नि भन्ने प्रश्नमा उनले कानूनी कारवाहीबाट बचाउन पार्टीले कसैलाई प्रभावित नपारेको जिकिर गरे । सचिव महासेठले न्यायिक इजलासबाटै दोषी ठहर भएको व्यक्तिलाई गृहमन्त्रीले पनि निर्देशन दिनु नपर्ने धारणा राख्दै यसमा गृह प्रशासनकै कार्यशैली शंकास्पद भएको बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्