राप्रपा पनि सरकारमा सहभागी हुने, लिङ्देन उपप्रधानमन्त्री बन्ने

Machchapuchchre

अर्थ राजनीति  ~  सरकारलाई समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सरकारमा सहभागी हुने भएको छ । बुधबार पृथ्वी जयन्तीका अवसरमा राप्रपाले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले भने, ‘सरकारमा सहभागी हुने ढोका खुलेको छ, हामी छलफलमा छौँ ।’ राप्रपाले सरकारमा सभागी हुन पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने सर्त राखेको थियो । सरकारले राप्रपाको माग पूरा गरेपछि सरकारमा सहभागी हुन लागेको हो । तर, कसको नेतृत्वमा सरकारमा जाने भन्ने निर्णय नभएको अध्यक्ष लिङ्देनले बताए । ‘कसको नेतृत्वमा जाने, मन्त्रालय कति हो, यो गौण हो । यो सरकार निर्माण प्रक्रियामा सामेल भएकाले अन्य दलले पनि सहभागी हुन जरुरी रहेको भनिरहेका छन्,’ उनले भने । चियापानमै सहभागी राप्रपाका एक वरिष्ठ नेताले भने अध्यक्ष लिङ्देनकै नेतृत्वमा पार्टी सरकारमा सहभागी हुने दाबी गरे । ‘उपप्रधानमन्त्री भएर अध्यक्ष नै सरकारमा साहभागी हुने हो । तर, मन्त्रालय कुन भन्ने तय भएको छैन,’ ती नेताले भने । राप्रपाले उपप्रधानसहित चार मन्त्रालयको दाबी गर्दै आएको छ । संसदमा राप्रपाको १४ सिट छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्