“नेपाली जनताले धेरै अपेक्षा राखेका छन् ” : सभापति देउवा

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले यो प्रतिनिधिसभाबाट नेपाली जनताले धेरै अपेक्षा राखेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उहाँले भन्नुभयो, “हाम्रो आगामी यात्रा, माध्यम र गन्तव्य स्पष्ट हुन जरुरी छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्त गर्नु हामी सबैको साझा लक्ष्य हो ।”सभापति देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण आजको आवश्यकता रहेको बताउँदै यसका लागि नेपालको संविधानको रक्षा र संविधानको भावना अनुरुप यसको कार्यान्वयन अनिवार्य शर्त भएको उल्लेख गर्नुभयो। संविधानको कार्यान्वयनका लागि धेरै नीति र कानून निर्माण गर्न बाँकी रहेको बताउँदै उहाँले संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणका लागि त्यसअनुरुपका आवश्यक नीति र कानून बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले लोकतान्त्रिक व्यवस्थाको स्थापना, पुनःस्थापना र संरक्षणका लागि जीवन आहुति दिन हुने सम्पूर्ण सहिदमा श्रद्धाञ्जली अर्पण गर्दै देशमा सङ्घीय, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गर्न र वर्तमान संविधान निर्माण गर्न योगदान गर्नु हुने सबैप्रति उच्च सम्मान गर्दै प्रशंसा गर्नुभयो । प्रतिनिधिसभामा निर्वाचित भएर आउनुभएका सबै सदस्यलाई बधाई दिँदै उहाँले पाँच वर्षको आफ्नो कार्यकालमा देश र जनताको हितमा काम गर्न सर्वदा सफल हुनुहुनेछ भन्ने विश्वास गर्दै कार्यकालको पूर्ण सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले निर्वाचित गर्ने जनताको भावनाअनुरुप काम गर्न सांसदहरुलाई अनुरोधसमेत गर्नुभयो । सभापति देउवाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त हुनुभएकामा बधाई दिँदै उहाँको कार्यकालको पूर्ण सफलताको शुभकामना व्यक्त गर्नुभयो। साथै उहाँले मन्त्रिपरिषद् मा  नवनियुक्त मन्त्रीहरुलाई बधाईका साथै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्