नेसनल मेडिकल कलेजले धर्नामा बसेका विद्यार्थीमाथि गर्‍यो कुटपिट, विद्यार्थी प्रहरी कार्यालय पुगे

Machchapuchchre Bank

काठमाडौं । नेसनल मेडिकल कलेज वीरगन्जमा धर्नामा बसेका विद्यार्थीलाई कलेज प्रशासनले कुटपिट गरेको छ। विद्यार्थीका अनुसार शुक्रबार कलेज प्रशासनका व्यक्ति आएर धर्नामा बसेका केही छात्रामाथि दुर्व्यवहार गर्दै कुटपिट गरेका हुन्। प्रहरीको सुरक्षा घेरामै विद्यार्थीमाथि कलेजबाट दुर्व्यवहार भएको एक प्रत्यक्षदर्शीले बताए।

कलेज प्रशासनका मान्छेहरु कुटपिटमा उत्रिएपछि विद्यार्थीले सुरक्षाको माग राख्दै प्रहरीमा पुगेका थिए। उनीहरू राति साढे १२ बजेसम्म प्रहरीमा बसेका थिए। उनीहरूले राति कलेजविरूद्ध निवेदन दिन खोजेका थिए। समय अवेर भइसकेको भन्दै प्रहरीले निवेदन नलिएको ती विद्यार्थीले बताए।

विद्यार्थीले साँझ ५ बजेसम्म कलेज हातामा धर्ना दिएका थिए। मेडिकल कलेजले गैरकानुनी शुल्क उठाएको बिरोधमा धर्नामा बसेका विद्यार्थीलाई नेसनल मेडिकल कलेज वीरगन्जले बिहीबार छ घन्टा होस्टल बस्न रोक लगाएको थियो। आक्रमण नै गर्न थालेपछि विद्यार्थी र्‍यालीसहित प्रहरीमा पुगेका थिए। कलेजका सञ्चालक बसरुद्दिन अन्सारीले धर्नाका क्रममा विद्यार्थीसँग भनाभन भएको बताए। शिक्षा मन्त्रालयले केही दिनअघि बढी उठाइएको शुल्क फिर्ता गर्न मेडिकल कलेजहरूलाई निर्देशनसहित कारबाहीको चेतावनी दिएको थियो।

तर, उक्त निर्देशन दिएको एघार दिन पुगे पनि बढी उठाइएको शुल्क फिर्ता नभएपछि विद्यार्थी धर्नामा बसेका थिए। पर्सा प्रहरीले विद्यार्थीले सुरक्षा मागेको बतायो। सरकारले राजधानीबाहिरका मेडिकल कलेजमा एमबिबिएस अध्ययनका लागि ४२ लाख ५० हजार रुपैयाँ शुल्क तोकेको छ। तर, उक्त मेडिकल कलेजले एमबिबिएस पहिलो वर्षका विद्यार्थीबाट ५५ लाख रुपैयाँसम्म शुल्क उठाएको विद्यार्थी बताउँछन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्