निर्वाचनको नतिजाले संकटमा सत्ता गठबन्धन

Machchapuchchre

अर्थ राजनीति  ~  प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको प्रारम्भिक मत परिणामसँगै सत्ता गठबन्धन संकटमा परेको छ। अपेक्षित रुपमा एक-अर्का दललाई मत नगएको भन्‍दै दलभित्र असन्तुष्टि सुनिन लागेको हो। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (‍‍एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेका थिए। हालसम्मको नतिजाले तालमेल कांग्रेस बाहेकका दलका लागि खासै देखिएको छैन। प्रारम्भिक नतिजामा कांग्रेसबाहेक गठबन्धन दलका अधिकांश नेता पछि परेका छन्। कांग्रेससँग ठूलो मतको अपेक्षा गरेका माओवादी केन्द्र र एकीकृत समाजवादीका उम्मेदवारहरु पछि छन्। सत्ता गठबन्धनले पाँचै दलका कार्यकर्तालाई एकले अर्कोलाई मत हाल्न निर्देशन दिएको भए पनि कांग्रेसको मत ‘ट्रान्सफर’ नभएको अन्य दलको आरोप छ। नेपाली कांग्रेसको जनमत रहेको क्षेत्रमा अरु पार्टीका उम्मेदवारले न्युन मत पाइरहेका छन्। तर कांग्रेसका अधिकांश नेताहरु गठबन्धन दलको सहायता लिएर जित निकालिरहेका छन्।

ओलीले दुईपटक प्रतिनिधि सभालाई विघटन गरेपछि गठबन्धन गर्न पुगेका प्रचण्ड-नेपाललाई स्थानीय तह निर्वाचनमा सफलता मिले पनि प्रतिनिधि सभाको नतिजा सन्तोषजनक आइरहेको छैन।जसको असर अब बन्ने नयाँ सरकारको अंक गणितमाथि पनि पर्ने छ। कांग्रेस सबैभन्दा ठूलो दल बन्दा पनि गठबन्धन दलकै संख्याले मात्रै सरकार बन्ने स्थिति नरहने आकलन गर्न थालिएको छ। त्यस बेलामा प्रचण्ड-नेपालको मुभ ओलीतिर हुन्छ या अहिलेको गठबन्धनमा कायम हुन्छ? भन्नेबारेमा गठबन्धनका नेताहरुले प्रारम्भिक मत परिणाममै मुख खोलिसकेका छैनन्। तर कांग्रेसले भोट ट्रान्सफर नगरेकोप्रति भने एकीकृत समाजवादी र माओवादीका नेताहरु रुष्ट हुन थालेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्