विदेशी पर्यटकलाई आकर्षित गर्न वर्षैभरि पर्यटन गतिविधिहरू

Machchapuchchre

अर्थ राजनीति  ~  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन वर्षको १२ महिना पर्यटन गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।

पर्यटनबाटै मुलुकको अर्थतन्त्रलाई टेवा पुग्ने बताउँदै मन्त्रीले भने, ‘नेपालमा वर्षको १२ महिना पर्यटन गतिविधि गर्नका लागि विविध हावापानी र मौसम अनुकूल छ । विदेशी पर्यटकलाई आकर्षित गर्न देशका धार्मिक, साँस्कृतिक र सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गर्न आवश्यक छ ।

मन्त्रालयले शनिबार यहाँ आयोजना गरेको संघ, प्रदेश र स्थानीय तहको पर्यटनसम्बन्धी विषयगत समितिको बैठकलाई उनले सम्बोधन गरेका हुन् । सातवटै प्रदेशका सबै महत्वपूर्ण पर्यटकीय गन्तव्यलाई ब्राण्डिङ गर्दै खेलकुद, स्वास्थ्य पर्यटन र शिक्षा तथा सांस्कृतिक पर्यटनलाई प्राथमिकता र प्रवर्द्धन गर्नुपर्ने उनले बताए ।

उनले पर्यटन विकासका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने बताए । ‘देशको विकासको महत्वपूर्ण आधार पर्यटन हो । रोजगारीका अवसर सृजना गरी विदेशी मुद्रा भित्र्याएर अर्थतन्त्रलाई टेवा पु¥याउने पर्यटन क्षेत्रलाई प्राथमिकता दिएर मुलुक समृद्धितर्फ अघि बढ्न सक्छ ।”

त्यसैगरी मन्त्रालयका सचिव सुरेश अधिकारीले संघीयताको भावना र रूपरेखाअनुरूप नीतिगत सुधारका लागि मन्त्रालयले योजना र कार्यक्रम अगाडि बढाएको बताए । कोभिड–१९ ले प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न तीनवटै सरकार एकजुट हुनुपर्ने उनको भनाइ थियो ।

त्यस्तै प्रदेश १, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका पर्यटनमन्त्री खिनु लङ्वा लिम्बु, शत्रुधन महतो र मानबहादुर धामीले पर्यटन विकासका लागि तीनवटै सरकारबीच सहकार्य र सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई देशको पर्यटकीय राजधानी घोषणा गर्न माग गरेका छन् ।

सो अवसरमा मन्त्रालयका सहसचिव तारानाथ अधिकारी र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मीले पर्यटन गतिविधिबारे प्रस्तुति दिएका थिए ।

बैठकमा पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुईटेल र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आ–आफ्नो संस्थाको सेवा प्रवाहका बारेमा जानकारी गराएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्