केपी ओलीले झापामा कार्यकर्तासँग संवाद गर्ने

Machchapuchchre

अर्थ राजनीति  ~   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन क्षेत्रका मतदातासँग तीन दिनसम्म अन्तरक्रिया गर्ने भएका छन् । झापा क्षेत्रनम्बर ५ का कार्यकर्ता र मतदातासित अन्तरक्रिया गर्न ओली बुधबार झापामा हुनेछन् । बुधबार झापाको बिर्तामोडमा हुने एउटा सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने बाहेक १३ गते साँझसम्म उनले झापाका नेता, कार्यकर्ता र मतदाताहरुसँग एक्लाएक्लै तथा सामूहिक रुपमा भेटघाट गर्ने नेकपा एमाले प्रदेश १ कमिटीका सचिवालय सदस्य एवम् झापा जिल्ला इञ्चार्ज होमबहादुर थापाले बताए । उनका अनुसार अध्यक्ष ओलीसँग भेटघाट गर्ने कार्यकर्ताहरुको नामावली संकलन गरिसकिएको छ । ‘अध्यक्षसँग भेटघाट गर्न चाहने जनवर्गीय संगठन, स्थानीय अगुवा कार्यकर्ता र मतदाताहरुको नामावली संकलन गरेर सामूहिक रुपमा कम्तिमा एक घण्टा भेट्न पाउने गरी सेड्युल तयार पारिसकिएको छ’ थापाले  भने, ‘यसपालि प्रशिक्षणभन्दा पनि दोहोरो कुराकानी र अन्तरक्रिया हुने भएकाले सबैले आ-आफ्ना कुरा खुलस्त राख्न पाउनुहुनेछ ।’भेटघाटको समन्वय गरिरहेका थापाका अनुसार एमाले अध्यक्ष ओली बुधबार बिर्तामोडमा उत्पीडित जातीय मुक्ति समाजको कार्यक्रममा सहभागी हुनेछन् । बिहीबारदेखि भने सार्वजनिक कार्यक्रममा सहभागी नभएर कार्यकर्ता लक्षित कार्यक्रम तय गरिएको उनले बताए । बिहीबार बिहान ९ बजेदेखि नै ओलीले कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।ओलीले दमक, गौरादह, कमलका स्थानीय जनप्रतिनिधि, युवासंघका प्रतिनिधि, अगुवा कार्यकर्ता र मतदाताहरूसँग छलफल गर्ने थापाले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्