अर्थ राजनीति ~ श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षेले उहाँ मंगलबार राति देश छाडेर माल्दिभ्स पुग्नुभएकाे थियाे । बुधबार बिहान माल्दिभ्स पुग्नुभएका राष्ट्रपति राजपाक्षे बिहीबार त्यहाँबाट साउदी एअरलाइन्सको विमानबाट सिंगापुर पुग्नुभएकाे थियाे । सिंगापुर पुगेर राष्ट्रपति राजपाक्षेले श्रीलंकाली संसदका सभामुख महिन्दा यापा अभयवद्र्धनेलाई इमेलमार्फत राजीनामा पठाउनुभएकाे हाे।
देश छाेड्नु अघि राष्ट्रपति राजपाक्षेले प्रधानमन्त्री रनिल विक्रमासिंगेलाई कार्यबाहक राष्ट्रपति नियुक्त गर्नुभएकाे थियाे । तर प्रधानमन्त्री विक्रमसिंगेले पनि उक्त पदको सपथ नलिएकाले उहाँको पनि हैसियत भने स्पष्ट छैन् । नयाँ राष्ट्रपतिको दावी गर्नेमा विपक्षी दलका नेता सजित प्रेमदासा अग्रपंक्तिमा देखिएका छन् ।
यद्यपी उहाँले शुक्रबार औपचारिक रूपमा राजीनामा घोषणा गर्ने बताइएको छ । उता, सिंगापुरका विदेशमन्त्रीले राष्ट्रपति राजपाक्षे सिंगापुर पुगेको पुष्टि गरेका छन् । तर राष्ट्रपति राजपाक्षेले राजनीतिक शरण नमागेको र सिंगापुरले सामान्यत: राजनीतिक शरण नदिने पनि सिंगापुरका विदेशमन्त्रीले बताएका छन् । राष्ट्रपति राजपाक्षेको राजीनामाले श्रीलंकाली संसदलाई नयाँ राष्ट्रपति चयन गर्ने बाटो खुलेको छ ।
यसैबीच, श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर नन्दलाल वीरसिंगेले देशमा स्थिर सरकार नबने श्रीलंका असफल राष्ट्र बन्ने चेनावनी दिएका छन् ।