” न्यायालयमा विकृति र विसंगतिको शुरूआत न्यायाधीश नियुक्तिबाटै “: मन्त्री शर्मा

Machchapuchchre

अर्थ राजनीति  ~  कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोईराला) ले न्यायालयमा विकृति र विसंगतिको शुरूवात न्यायाधीश नियुक्तिबाट भइरहेको दाबी गरेका छन्। आईतबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले यस्तो बताएका हुन्। उनले न्यायाधीश नियुक्ति गर्दा योग्यता, क्षमता, निष्पक्षता, नियुक्ति गरिएको व्यक्तिले गर्दै आएको कार्यसम्पादनाई नहेरी आफ्नो मान्छे नियुक्ति गर्नाले न्यायपालिकामा समस्या भइरहेको बताए। मन्त्री शर्माले न्यायपरिषद्ले अहिले न्यायाधीश नियुक्ति सम्बन्धी निर्देशिका तयार गरेको र निर्देशिकाको मस्यौदामा छलफल भइरहेको बताए। उनले यो हप्ता नै निर्देशिकाको अन्तिम रूप दिइ राजपत्रमा प्रकाशन गर्ने र त्यसको आधारमा नै निष्पक्ष प्रक्रियाबाट न्यायाधीशको नियुक्ति गर्ने बताए। ‘पछिल्लो समय सम्मानित सर्वोच्च अदालतले गठन गरेको सर्वोच्च अदालतका माननीय न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा रहेको न्यायपालिकाको विकृति र विसंगतिको सुधार सम्बन्धी प्रतिवेदनले केही कुराहरु अघि सारेको छ’, उनले भने, ‘त्यसैले न्यायपरिषद्ले अहिले न्यायाधीश नियुक्ति सम्बन्धी निर्देशिका तयार गरेको छ। निर्देशिकाको मस्यौदामा छलफल भइरहेको छ। यो हप्ता नै निर्देशिकाको अन्तिम रुप दिएर राजपत्रमा प्रकाशन गरेर त्यसकै आधारमा निष्पक्ष प्रक्रियाबाट, को नियुक्ति हुँदैछन् भन्ने कुरा आम सार्वजनिक सूचना प्रकाशित गरेर ती व्यक्तिको बारेमा पब्लिक अडिट गरेर न्यायाधीहरुको नियुक्ति गरिनेछ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्