” गाली र आलोचना नै सुन्ने भए आफ्नै महानगरबासीको सुन्छु ” मेयर बालेन

Machchapuchchre

अर्थ राजनीति  ~  हेटौंडामा आयोजित स्थानीय सरकारको बैठक छोडेकोबारे काठमाडौं महानगरका  मेयर बालेन शाहले  स्पष्टीकरण दिएका छन्। बैठक तीन दिनको लागि आयोजना गरिएको थियो। तर मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल एकदिन मात्र बैठकमा सहभागी भएर फर्किएका छन्। तीन दिने बैठकमा सहभागी हुन आइतबार नै हेटौंडा पुगेका बालेन र सुनिता एकदिन मात्र बैठकमा सहभागी भएर सोमबार बेलुका ५ बजे नै फर्किएको बालेनका सचिवालयका राजेन्द्र गजुरेलले जानकारी दिए। बालेनले काठमाडौं र काठमाडौंबासीसँग सम्बन्धित नभएको कार्यक्रममा काठमाडौंबासीलाई गाली गरी समय र ऊर्जा खर्चिएका कारण बैठक छाडेर आएको बताए। ‘मलाई व्यक्तिगत रूपमा आलोचना वा गाली गर्न पाइयो तर काठमाडौं र काठमाडौंबासीसँग सम्बन्धित नै नभएको कार्यक्रममा काठमाडौंलाई गाली गर्न किन समय र ऊर्जा खर्चिने? मेरो प्रश्न यति हो,’ बालेनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘काठमाडौं केबल राजधानीमात्रै होइन, अझ बागमती प्रदेशको लागि त एउटा पालिका मात्रै हो तर काठमाडौं कसैको जन्मभूमि, कसैको कर्मभूमि हो। गाली गरिराख्ने तर मौका पाउँदा पनि केही नगर्ने ठाउँ/कार्यक्रममा बस्ने औचित्य नदेखेर मैले हिजोको कार्यक्रम छोडेको हुँ।’ गाली र आलोचना नै सुन्ने भए आफ्नै महानगरमा आफ्नै महानगरबासीहरूको सुन्ने वा सम्बन्धित व्यक्ति, समूह वा कार्यक्रमहरूमा सुन्ने  उनले बताएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्