युक्रेन युद्धः किएभमा दैनिक २०० जनासम्म सैनिकले ज्यान गुमाउँदै

Machchapuchchre Bank

अर्थ राजनीति  ~  युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक वरिष्ठ सल्लाहकारले युद्धको अग्रमोर्चामा दैनिक १०० देखि २०० को बीचमा सैनिकले ज्यान गुमाइरहेको बताएका छन्। पूर्वी डोन्बास क्षेत्रमा रुसी फौजको सामना गर्नका निम्ति सयौँ पश्चिमा युद्ध प्रणाली युक्रेनलाई आवश्यक रहेको सल्लाहकार  मिखाइलो पोदोलियाकले बताए। मस्कोसँग शान्तिवार्ता पुनः सुरु गर्न किएभ तयार नभएको पनि उनले उल्लेख गरे। सिङ्गो डोन्बासमाथि नियन्त्रण गर्ने प्रयासमा रहेका रुसी फौजहरूको निरन्तर बमबारीको युक्रेनी फौजले सामना गर्नु परेको छ। रुसी फौजहरूले पारमाणविक अस्त्रबाहेक लगभग सबै प्रणालीबाट हमला गरिरहेको पोदोलियाकले बताए। युद्धमा युक्रेनतर्फ धेरै क्षति हुनुका कारण दुई पक्षबीच “प्रतिरक्षा गर्ने सामर्थ्य समान नहुनु” भन्दै पश्चिमा देशहरूले थप अस्त्र उपलब्ध गराउनु पर्ने युक्रेनको माग उनले दोहोर्‍याए। “हामीले अस्त्र माग गर्नु केवल मागका लागि मात्रै होइन…बरु युद्ध मैदानको स्थितिअनुसार तथ्यपरक माग हो,” पोदोलियाकले भने। रुसको सामना गर्न युक्रेनलाई १५० देखि ३०० वटासम्म रकेट प्रणाली चाहिएको उनले बताए। यो सङ्ख्या भनेको अहिलेसम्म युक्रेनले प्राप्त गरिसकेकोभन्दा बढी हो। गत फेब्रुअरी २४ तारिखमा सुरु गरेको अतिक्रमणयता कब्जा गरेका सबै भूभाग रुसले फिर्ता गरे मात्रै शान्तिवार्ता पुनः शुरू हुन सक्ने पोदोलियाकले स्पष्ट पारे। युद्धको अग्रपङ्क्तिमा दैनिक १०० देखि २०० को बीचमा युक्रेनी सैनिकले ज्यान गुमाइरहेको भन्नु भनेको पहिला अनुमान गरिएको सङ्ख्याभन्दा उच्च हो। पूर्वी युक्रेनी शहर सेभेरोडोनेट्स्कमा लडाइँ मत्थर हुने कुनै छनक देखिएको छैन। त्यहाँको सडकमा गोली हानाहान र भीषण बमबारी चलिरहेका विवरण प्राप्त भएका छन्। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सेभेरोडोनेट्स्क शहरका लागि भएको लडाइँबाट पूर्वी डोनबास क्षेत्रको ‘भाग्य निर्धारण हुनसक्ने’ बताएका छन्। लुहान्स्क क्षेत्रका गभर्नर सेर्हेई हाइडाइले युक्रेनी फौजहरू शहरबाट पछाडि धकेलिएको र उनीहरूले केही बाहिरी भागमा मात्र नियन्त्रण गरिरहेको बताएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्