स्थानीय तहलाई बलियो पार्न आवश्यक कानुन बनाउनुपर्ने सांसदहरूको भनाइ

Machchapuchchre

अर्थ राजनीति  ~  राष्ट्रियसभा सदस्य कृष्णप्रसाद पौडेलले स्थानीय तहलाई बलियो पार्न आवश्यक कानुन बनाउनुपर्ने बताएका छन् ।
सोमबार राष्ट्रियसभाको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य पौडेलले स्थानीय तहलाई बलियो पार्न आवश्यक कानुन बनाउनुपर्ने बताएका हुन् । उनले आवश्यक स्रोत, साधन र जनशक्तिको व्यवस्थापन गर्नुपर्नेमा पनि जोड दिए । उनले स्थानीय तहलाई बलियो बनाउन नसके जनताको इच्छा र आकांक्षालाई पूरा गर्न नसकिने बताए । राष्ट्रियसभा सदस्य भैरव सुन्दर श्रेष्ठले सरकारले पेट्रोलिय पद्धार्थको मूल्यवृद्धि गराएर सरकार हुनुको अनुभुति दिलाउन नसकेको बताए । मूल्यवृद्धि गराएर जनताको ढाड सेकाएको र जनताप्रति उत्तरदायी नभएको उहाँले बताउनुभयो । मुल्यवृद्धिको कारण सबै क्षेमा असर पुगेको उनको भनाइ छ । उनले भने, ‘अहिले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि हेर्दा लाग्छ देशमा सरकार छ वा छैन ? विगत सात महिनाको अवधिमा यसरी पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि भएको छ, आज देशका जनताहरू ढाड सेकिएका छन् । महँगीको मारमा परेका छन् । यही छिमेकी देश भारतले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि हुँदा आफ्नो देशको नागरिकहरूलाई करको दायरालाई कम गरेको छ । जनतालाई प्रत्यक्ष राहत दिएको छ ।
राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले पेट्रोलियम पद्धार्थको मूल्य घटाउन सरकारलाई अनुरोध गरे । मूल्यवृद्धिका कारण सरकारप्रति नकारात्मक धारणा बनेको उनले उल्लेख गरे । उनले स्थानीय तह निर्वाचन धेरै महंगो भएको भन्दै महंगो निर्वाचन प्रणालीलाई सच्याउनुपर्ने बताए । उनले स्थानीय तहमा स्वतन्त्र प्रणाली विकास गर्ने तथा संघ र प्रदेशमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली गर्नुपर्ने बताए । त्यसैगरी विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य जयन्तीदेवी राईले देशमा महिला हिंसा र वलात्कारको घटना बढ्दै गएको बताए । उनले महिलाहरू कुनै पनि ठाउँमा सुरक्षित नभएको बताए । अपराधीहरू कानुनी प्रावधानका कारण उम्किने खतरा रहेको औँल्याउँदै उनले कानुनी व्यवस्थालाई संशोधन गर्नुपर्ने बताए । राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले राज्यको कार्यकारी पदमा बसेका व्यक्तिले दुईपटक भन्दा बढी अवसर नपाउने व्यवस्था गर्न माग गरे । यसको निम्ति संविधान वा कानुनमै लेख्नुपर्ने उनको भनाइृ छ । देवकोटाले स्थानीय तहको निर्वाचनमा दलिय प्रभाव नहुनेगरी कानुनी र नितिगत सुधार गर्नुपर्ने बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्