पाँच डीआईजी एआईजीमा बढुवा सिफारिस

Machchapuchchre

अर्थ राजनीति   ~  सरकारले नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गरेको छ । गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको बैठकले रिक्त पाँच एआईजी पदमा डिआइजीहरू उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंहलाई बढुवा सिफारिस गरेको हो । आज बिहान बसेको समितिको बैठकको निर्णयअनुसार प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस गरिएको समितिका सदस्य–सचिवसमेत रहेका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले जानकारी दिएका छन् । हाल डीआईजी सुवेदी उपत्यका प्रहरी कार्यालय रानीपोखरीको निमित्त प्रमुख, बिसी एक नम्बर प्रदेश प्रहरी प्रमुख, लोहनी गण्डकी प्रदेश प्रहरी प्रमुख, आचार्य राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको निमित्त कार्यकारी निर्देशक र सिंह बागमती प्रदेश प्रमुखको जिम्मेवारीमा छन् ।डीआईजीद्वय सुवेदी र बिसी ०७७ बैशाख ७ मा बढुवा भएका थिए भने लोहनी र आचार्य २०७७ पुस २० मा डीआईजीमा बढुवा भएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्