काठमाडौँको सीडीओलाई कारबाही गर्ने ललितपुर जिल्ला अदालतको चेतावनी

Machchapuchchre

अर्थ राजनीति  ~  अदालतले माग गरेको कागजात र विवरण नपठाएको भन्दै ललितपुर जिल्ला अदालतले काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई कारवाही गर्ने चेतावनी दिएको छ । ललितपुर जिल्ला अदालतका न्यायाधीश रामप्रसाद बस्यालको इजलासले वैशाख ४ गते एक आदेश गर्दै सिडिओलाई कारवाही गर्ने चेतावनी दिएका हुन् । दूषित नामसारी निर्णय दर्ता बदर सम्बन्धी परेको रिटमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले प्रतिवादीको कागजातको प्रतिलिपि र अदालतले माग गरेको विवरण उपलब्ध नगराएको भन्दै अदालतले कारवाहीको चेतावनी दिएको हो । ललितपुर जिल्ला अदालतमा रुविना चौगुठी वादी भएको दूषित नामसारी निर्णय दर्ता बदर गरी हक कायम सम्बन्धी मुद्दामा प्रतिवादी बनाइएकी सम्झना ग्वाछा श्रेष्ठको कागजात र विवरण जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग मागिएको थियो । सम्झनाले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट झुठा विवरण पेश गरी काठमाडौंबाट २०६५ वैशाख ५ गते २७१०६०/१८०१९ नम्बरको नागरिकता लिइएको दाबी गरिएको थियो । उक्त विषयमा २०७६ कात्तिक २६ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको सम्बन्धमा के कस्तो भइरहेको छ भनि ललितपुर जिल्ला अदालतले पटकपटक पत्र काटेर काठमाडौंको प्रमुख जिल्ला अधिकारीलाई सोधेको थियो । तर काठमाडौंका सीडीओले हालसम्म पनि कुनै जवाफ नपठाएपछि ललितपुर जिल्ला अदालतले आदेश नै गरेर कारवाहीको चेतावनी दिएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्