फागुनसम्म वाणिज्य बैंकहरुले कमाए कुल ४६ अर्ब ८६ करोड रुपैयाँ खुद नाफा

Machchapuchchre

अर्थ राजनीति  ~  चालु आर्थिक वर्षको फागुन महिनामा वाणिज्य बैंकहरुले कुल ४६ अर्ब ८६ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। औसतमा बैंकहरुले एक अर्ब ७३ करोड रुपैयाँ खुद नाफा कमाएको राष्ट्र बैंकको तथ्यांकले जनाएको छ। तीन वाणिज्य बैंकको खुद नाफा ३ अर्ब रुपैयाँ अधिक रहेको छ भने १० वाणिज्य बैंकले औसतभन्दा धेरै नाफा कमाएका छन्। अघिल्लो महिना अर्थात् माघमा बैंकहरुको नाफा ४० अर्ब २४ करोड रुपैयाँ थियो। एक महिनाको अवधिमा वाणिज्य बैंकहरुको खुद नाफामा १६.४४ प्रतिशतको वृद्धि देखिएको छ। यस्तै, गत आर्थिक वर्षको फागुन महिनासँग तुलना गर्दा बैंकहरुको खुद नाफामा करिब १२ प्रतिशतको वृद्धि भएको छ। गत आर्थिक वर्षको फागुनसम्ममा अधिकांश वाणिज्य बैंकहरुको खुद नाफा ४१ अर्ब ९५ करोड रुपैयाँ थियो। चालु आर्थिक वर्षको फागुन महिनासम्म आइपुग्दा सर्वाधिक नाफा कमाउन सफल ग्लोबल आइएमई बैंक रहेको छ। बैंकले तीन अर्ब ४६ करोड खुद नाफा गरेको छ। माघको तुलनामा बैंकको नाफा १४.२५ प्रतिशत बढेको छ। माघ अन्त्यसम्ममा बैंकले ३ अर्ब ३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। फागुनसम्म आइपुदा दोस्रो सर्वाधिक नाफा कमाउने वाणिज्य बैंक एनआइसी एसिया बैंक भएको छ। बैंकले ३ अर्ब २९ करोड रुपैयाँ खुद नाफा कमाएको छ। नाफा माघको तुलनामा १५.२५ प्रतिशत बढेको छ। तीन अर्ब अधिक खुद नाफा कमाउन सफल नबिल बैंक पनि हो। बैंकले फागुन अन्त्यसम्ममा ३ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको छ। माघ महिनाको तुलनामा बैंकको नाफा १६ प्रतिशत बढेको छ। चालु आर्थिक वर्षको आठ महिनामा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पनि २ अर्ब ६५ करोड रुपैयाँ नाफा कमाएको छ। यस्तै, प्राइम कमर्सियल बैंकले २ अर्ब ५६ करोड रुपैयाँ, एनएमबि बैंकले २ अर्ब २२ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब १५ करोड रुपैयाँ, सिद्धार्थ बैंकले २ अर्ब ४ करोड रुपैयाँ र नेपाल बैंक लिमिटेडले २ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन्। फागुन महिनासम्म आइपुदा दुई अर्ब अधिक खुद नाफा रहेका यी वाणिज्य बैंक हुन्। त्यसैगरी सरकारी स्वामित्वको कृषि विकास बैंकले पनि फागुनसम्ममा एक अर्ब ८० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्