अर्थ राजनीति ~ नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण भए पनि श्रीलंकाको अवस्थामा पुग्ने अवस्था नभएको बताएका छन् । बुधबार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै उपाध्यक्ष ढकालले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा भए पनि श्रीलंकाको अवस्थामा भने नपुग्ने दाबी गरे । उनले हामीले स्वदेशमा उत्पादित वस्तुहरूको जबसम्म उपभोग गर्दैनौ तबसम्म रोजगारी सृजना र आर्थिक समृद्धि हुन नसक्ने बताए । उपाध्यक्ष ढकालले अहिले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण रहेकाले यो चुनौती सामना गर्न अर्थतन्त्रलाई चलायमान बनाउने गरी निजी क्षेत्रले काम गर्न आवश्यक रहेको बताए । त्यस्तै उपाध्यक्ष ढकालले अहिलेको अर्थतन्त्रको मुख्य समस्या तरलता अभाव भएको बताए ।
उहाँले तरलता अभावको कारण बैंकहरूले तरलता सहज बनाउनका लागि निक्षेपको ब्याजदर बढाए पनि निक्षेप बढ्न नसकेको दाबी गरे । उपाध्यक्ष ढकालले बैंकहरूले निक्षेपको ब्याजदर बढाउँदैमा निक्षेप बढ्दैन भन्ने पछिल्लो उदाहरण भएको उनको भनाइ थियो । उनले बैंकहरूमा जबसम्म व्यवसायले थाम्न सक्ने ब्याजदर हुँदैन तबसम्म व्यावसायिक गतिविधि अगाडि बढ्न नसक्ने दाबी गरे ।