आईपीओ निष्कासनको तयारी गर्दै विद्युत् प्राधिकरण

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल सरकारको स्वामित्वअन्तर्गत रहेर सर्वाधिक नाफा कमाउन सफल नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । प्राधिकरणले पुँजी वृद्धि गर्ने उद्देश्यअनुरुप आईपीओ जारी गर्नका लागि आवश्यक तयारी सुरु गरिएको जनाकारी दिएको हो । शेयरमा सर्वसाधारणको पहुँच बढाउँदै पुँजी वृद्धि गर्ने उद्देश्यका साथ आईपीओ निष्कासनको तयारी गरेको प्राधिकरणले वित्तीय अवस्थाअनुसार डब्बल ए प्लस क्रेडिट रेटिङसमेत पाएको छ । रेटिङ प्रदान गर्ने कम्पनी इक्रा नेपालले प्राधिकरणलाई डब्बल ए प्लस रेटिङ प्रदान गर्दै लगानी सुरक्षित रहने कम्पनीको सूचीमा राखेको हो । डब्बल ए प्लस रेटिङ पाएका संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै वहन गर्न सक्ने उच्च क्षमता सुरक्षित रहन्छ भन्ने हो । डब्बल ए प्लस रेटिङ पाउने संस्थासँगको वित्तीय कारोबारमा ज्यादै न्यून मात्रामा ऋण भुक्तानी जोखिम हुन्छ । प्राधिकरणले इक्रा नेपालबाट कम्पनी रेटिङ प्राप्त गरेसँगै पुँजी वृद्धिका लागि आईपीओ निष्कासनको तयारी सुरु भएको जनाएको छ । सरकारको स्वीकृतिमा प्राधिकरण ऐनमा भएको व्यवस्थाबमोजिम सर्वसाधारणलाई शेयर जारी गर्ने विषयमा छलफल भइरहेको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘विगतमा प्राधिकरण वार्षिक घाटा र सञ्चित नोक्सानीमा थियो, अब सबै वित्तीय सूचकाङ्कमा उल्लेख्य सुधार आइसकेको छ, क्रेडिट रेटिङबाट पनि प्राधिकरणमा लगानी सबै हिसाबबाट सुरक्षित रहेको विश्लेषण गरिएको छ । अब ऐनमा भएको व्यवस्थाअनुसार शेयर निष्कासन गर्न सरकारसँग सहमति लिएर प्रक्रिया अगाडि बढाउँछौँ’, उनले भने । ऐनमा प्राधिकरणको शेयर पुँजी नेपाल सरकारले तोक्ने व्यवस्था छ । प्राधिकरणले निष्कासन गरेको शेयरमध्ये नेपाल सरकारले खरिद गरी बाँकी रहेको शेयर मात्र सर्वसाधारण जनतालाई बिक्री गरिने व्यवस्था छ । सरकारले प्राधिकरणको दोस्रो वित्तीय पुनःसंरचनाअन्तर्गत शेयर निष्कासनका लागि सहमति दिइसकेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्