१४ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले मंगलबार १४ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्दैछ । २८ दिन, ९१ दिन र ३६५ दिन गरी तीन किसिममा कुल १४ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल सार्वजनिक गर्न लागेको बैंकले सोमबार अर्थात् आज दिउँसो ३ बजेसम्म दरखास्त आह्वान गरेको हो । सोही अनुसार इच्छुक लगानीकर्ताले आज ३ बजेसम्म उक्त ट्रेजरी बिल खरिदका लागि निवेदन दिन सक्नेछन् । बैंकका अनुसार २८ दिनका लागि २ अर्ब, ९१ दिनका लागि ७ अर्ब १० करोड र ३६५ दिनका लागि ५ अर्ब रुपैयाँ बराबरको बिल जारी गरिनेछ । यी बिलहरु जारी भएको मिति अर्थात् भोलि माघ २५ गतेदेखि क्रमशः फागुन २४ गते, २०७९ बैंशाख २७ गते र २०७९ माघ २४ गते परिपक्व हुनेछ । सार्वजनिक बोलकबोलमार्फत जारी गरिने यस ट्रेजरी बिल माथिदेखि क्रमशः तल घट्दोदरमा कटअफ ब्याजदरमा प्रदान गरिने बैंकले जनाएको छ । तर, खुल्ला प्रतिस्पर्धात्मक बोलकबोलमार्फत बिल सार्वजनिक गरिने भएपनि कुल निष्काशनको ८५ प्रतिशत खुल्ला र १५ प्रतिशत विना प्रतिस्पर्धा विक्री गरिने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्