गृहमन्त्री खाँणद्वारा मुख्यमन्त्री र प्रजिअ संग कुराकानी

Machchapuchchre
अर्थ राजनीति  ~  गृहमन्त्री बालकृष्ण खाँणले दुई प्रदेशका मुख्यमन्त्री र १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग सीमा नाकाबाट भित्रने नागरिकमा कोभिड–१९ संक्रमणको अवस्था, होल्डिङ सेन्टर र एन्टिजेन्ट परीक्षण लगायतबारे जानकारी लिएका छन् । उनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत तथा सीमानाका जोडिएका र नजिकका जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग त्यहाँको अवस्थाबारे टेलिफोनमार्फत जानकारी लिएका गृहमन्त्रीका प्रेस संयोजक मधुसुधन भट्टराईले जानकारी दिए । उनले कैलाली, रुपन्देही, बाँके, अर्घाखाँची, कञ्चनपुर, बारा, पर्सा, मोरङ, झापा, सप्तरी, कपिलवस्तु र नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारीसँग शीतलहर तथा कोरोना संक्रमणबाट नागरिकलाई जोगाउन भइरहेका प्रयासबारे पनि जानकारी लिएका हुन् । बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वालले गृहमन्त्री खाँणले सीमा क्षेत्रमा एन्टिजेन परीक्षण, स्वास्थ्य सेवा केन्द्रको अवस्था र शीतलहरबाट नागरिकलाई बचाउन भइरहेको प्रयास तथा योजनाबारे जानकारी लिएको बताए । उनका अनुसार गृहमन्त्री खाँणले सीमानाकामा जाँच कडाइ गर्न, होल्डिङ सेन्टरलाई तयारी अवस्थामा राख्न तथा शीतलहरमा नागरिकलाई बचाउन विपद्बाट आएको रकमले दाउरा र कम्बल वितरण गर्न निर्देशन दिए । गृहमन्त्री खाँणले सीमाबाट भित्रने नागरिक जसको कोभिड–१९ परीक्षण गर्दा पोजेटिभ देखिन्छ, उनीहरूलाई आइसोलेसनमा राख्न र नजिकैको जिल्लामा घर भएका स्वास्थ्य मापदण्ड अपनाएर घरमै आइसोलेशनमा बस्न चाहनेलाई घरसम्म पुर्याउने व्यवस्थाबारे पनि चासो राखेका थिए । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले परीक्षणका क्रममा पोजेटिभ देखिएकालाई स्वास्थ्य मापदण्ड अपनाएर घरमै आइसोलेशनमा बस्न चाहनेलाई घरसम्म पु¥याउन गरिएको व्यवस्थाबारे गृहमन्त्री खाँणलाई जानकारी गराइएको बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्