अर्थ राजनीति ~ नेपालमा गत आर्थिक वर्ष २०७७/७८ मा पहिलो पटक एक खर्बमाथिको निर्यात व्यापार भएको थियो । तर, त्यसका लागि १०औं महिनासम्मको व्यापार कुर्नु परेको थियो । चालु आर्थिक वर्ष २०७८/७९ मा भने पहिलो ५ महिनामै निर्यात व्यापारले एक खर्बको आंकडा पार गर्दै कीर्तिमान राखेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको पहिलो पाँच महिना (साउन–मंसिर)सम्म कुल १ खर्ब २ अर्ब ९२ करोड रुपैयाँ बराबरको सामान नेपालबाट विदेशमा निर्यात भएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १०५.६१ प्रतिशत बढी हो । यसअघि गत आवको निर्यात यो अवधिमा मात्र ५० अर्ब ५ करोड रुपैयाँ बराबरको भएको थियो । गत आर्थिक वर्ष २०७७/७८ भर कुल १ खर्ब ४१ अर्ब रुपैयाँको निर्यात व्यापार भएको थियो । यो व्यापार नै नेपालको इतिहासमा सबैभन्दा ठूलो निर्यातको आंकडा थियो । चालु आवमा भने निर्यातले यसअघिका वर्षहरुका सबै रेकर्ड तोड्ने देखिएको छ ।
निर्यात व्यापारले छलाङ मारेको चालु आवमा आयातको वृद्धिदर समेत कम भने छैन । चालु आवको पहिलो ५ महिनामा वस्तु आयात ८ खर्ब ३८ अर्ब ४० करोड रुपैयाँ बराबरको भएको छ । यो गत आवको यसै अवधिको तुलनामा ५९.५५ प्रतिशत धेरै हो । गत आवमा यो अवधिमा ५ खर्ब २५ अर्ब ४९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । आयात र निर्यात दुवैको आकार बढ्दा यसले वैदेशिक व्यापारको आकार समेत उल्लेख्य बढाएको छ । भन्सार विभागको तथ्यांक अनुसार पाँच महिनामा नेपालको कुल वैदेशिक व्यापारको आकार ९ खर्ब ४१ अर्ब ३२ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । यो अघिल्लो आवको तुलनामा ६३.५५ प्रतिशत बढी हो । गत आवको यस अवधिमा कुल वैदेशिक व्यापारको आकार ५ खर्ब ७५ अर्ब ५५ करोड रुपैयाँको थियो ।