प्रधानन्यायाधीशको बहिर्गमन : राजनीतिक दलहरूले आफ्नो निर्णय गर्नुपर्ने

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बहिर्गमनको सम्बन्धमा राजनीतिक दलहरूले आफ्नो निर्णय गर्नुपर्ने बताए । मंगलबार बार एसोसिएसनले सर्वोच्च अदालतमा आयोजना गरेको विरोधको कार्यक्रमपछि बार एसोसिएसनको भवन परिसरमा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराको बहिर्गमनका लागि सबै राजनीतिक दलहरूलाई बारले आग्रह गरेकाले यस सम्बन्धमा दलहरूले आफ्नो निर्णय गर्नुपर्ने बताए । राजनीतिक दलहरू न्यायपालिकामा भइरहेको विवादको सम्बन्धमा मूकदर्शक भएर बस्न नमिल्ने उनको भनाइ छ । भ्रष्टाचारमुक्त न्यायपालिका बनाउनका लागि राजनीतिक दलहरूले पहल गर्नुपर्ने उनले बताए । अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले आफू नांगिएको कुरा स्वीकार गरिसकेको दाबी गरे । प्रधानन्यायाधीश नांगिदैमा न्यायपालिका नप्रसने र न्याय प्रशासन चल्न नसक्ने उनले बताए । न्यायपालिकालाई नांगिन नदिनका लागि प्रधानन्यायाधीशले पदबाट राजीनामा दिनुपर्ने उनले बताए । उनले भने, ‘उहाँ नांगिदैमा न्यायपालिका सप्रिन्छ ? न्यायपालिकाको प्रशासन यो ढंगबाट चल्न सक्छ ? के हामी यो चाहान्छौ ? उहाँ नांगिनुभएको छ भने घरमा गएर नांगिनुस् । न्यायपालिकालाई नांगिन नदिनुस् । तपाईँले राजीनामा गर्नुस् । वर्हिगमन हुनुस् भन्नेकुरा हामीले उहाँलाई अनुरोध गर्दै आएका छौं ।’ केही दिनदेखि स्थगन भएको बार एसोसिएसनको आन्दोलन पुनः सुरु भएको छ । मंगलबार कानुन व्यवसायीहरूले नाराबाजीसहित सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म विरोधको कार्यक्रम जारी रहेको नेपाल बार एसोसिएसनले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्