आयात निरुत्साहित गर्न राष्ट्र बैंकद्वारा कडा नियम लागु

Machchapuchchre

अर्थ राजनीति  ~  तरलता अभावले आर्थिक संकट बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले आयात निरुत्साहित गर्न थप कडाइ गरेको छ । सोमबार बैंक तथा वित्तिय संस्थाहरुलाई परिपत्र जारी गर्दै नेपाल राष्ट्र बैंकले डेढ दर्जन बढी वस्तु आयातका लागि एलसी खोल्नुअघि अनिवार्य नगद जम्मा गर्नुपर्ने नियम लागु गरेको हो । अब आयातका लागि एलसी खोल्ने अनुमति प्राप्त वित्तिय संस्थाहरुले राष्ट्र बैंकले तोकेको दरको अनिवार्य नगद जम्मा गरेपछि मात्रै एलसीको प्रक्रिया अघि बढाउन पाउने छन् । नयाँ नियमअनुसार डेढ दर्जन बस्तुहरुमध्ये दुई वटामा ५० प्रतिशत र अरुमा शत प्रतिशत नगद राख्नुपर्ने व्यवस्था गरिएको छ । चिनी र चकलेट, ल्वाङ, मिनरल वाटर, मदिरा र भिनेगर, चुरोट र सुर्तिजन्य बस्तु, अत्तर, कस्मेटिक्स, फर्निचर तथा काठका सामग्रीहरु, जुत्ता चप्पल, छाता र लठ्ठी, मार्वल, सिमेन्ट, प्लास्टर र सेरामिकका बस्तु, सुन, चाँदीजस्ता वस्तु आयात गर्दा आयातकर्ताले शत प्रतिशत नै नगद बैंकमा राखेपछि मात्रै एलसी खोल्न पाउने छन् । तर गाडी र मोटरसाइकलमा भने त्यस्तो मार्जिन रकम ५० प्रतिशत मात्रै राखेर एलसी खोल्न सकिने छ । विद्युतीय सवारीका हकमा मार्जिनको नीति लिइएको छैन भने औषधिजन्य पदार्थ र औद्योगिक कच्चा पदार्थका हकमा पनि यो नियम लागु हुनेछैन । यसले बैंक तथा वित्तिय संस्थाबाट आयातमा जाने ऋण कम हुने अपेक्षा केन्द्रीय बैंकको छ । यसअघि सम्म बैंक तथा वित्तिय संस्थाको नगद मार्जिन सम्बन्धि आफ्नै नियम हुने गर्दथ्यो भने अपुग रकम बैंकहरुले ऋणको रुपमा उपलब्ध पनि गराउने गर्दथे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्