सभामुख चयन प्रक्रिया पुस ११ गतेबाट सुरु हुने

Machchapuchchre

काठमाडौँ । प्रतिनिधिसभाको सभामुख चयन प्रक्रिया पुस ११ गतेबाट सुरु हुने भएको छ । संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रतिनिधिसभाको अर्को बैठक पुस ११ गते एक बजे बस्ने दलहरुबीच सहमति बनेको छ । बीचमा क्रिसमस पर्ने र सभामुख चयन प्रक्रिया सुरु गर्न निर्वाचन समिति बनाउनु पर्ने भएकाले ११ गतेसम्म बैठक सारिएकाे हाे।

त्यही बैठकबाट सभामुख चयन प्रक्रिया सुरु हुने कार्यव्यवस्था परामर्श समितिका एक सदस्यले बताए। संसदको हिउँदे अधिवेशन शुक्रबार अपरान्ह ४ बजे आव्हृान भएको छ। बैठकको विषयबस्तु तय गर्न बसेको परामर्श समिति बैठकले अर्को बैठक ११ गते बस्ने र त्यहि बैठकबाट सभामुख चयन प्रक्रिया सुरु गर्ने सहमति जुटाएको हो।

सभामुख चयन गर्न संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईको अध्यक्षतामा निर्वाचन समिति बनाउने संसद नियमावलीमा उल्लेख छ। शुक्रबारको बैठकपछि उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गराउने तयारी सत्तारुढ दल नेकपाको छ। उनी नेकपाबाट उपसभामुख बनेकी थिइन। संविधानमा एउटै पार्टी र एउटै लिङ्गको सभामुख र उपसभामुख बन्न नपाउने व्यवस्था छ। नेकपाले सभामुख राखेर उपसभामुख अर्कै दललाई दिने तयारी गरिरहेकाे नेताहरु बताउँछन्।

शुक्रबार ‌संसद बैठकमा अधिवेशन सुरु भएकोबारे राष्ट्रपतिको पत्र, मन्त्रिपरिषदका सदस्य हेरफेरबारे राष्ट्रपतिको पत्र पढेर सुनाउने कार्यसूची छ । त्यस्तै चार जना पूर्वसां‌सदको शोक प्रस्ताव पारित गर्ने, सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सात जनाको नाम पढेर सुनाउने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ ।

संसद अधिवेशन र सभामुख निर्वाचनको प्रक्रियालाई लिएर बिहीबार नेकपा र कांग्रेसका शीर्ष नेताहरुबीच छलफल भएको थियो । उपसभामुख तुम्बाहाम्फेले संसदको हिउँदे अधिवेशनको पहिलो बैठक सञ्चालन गर्ने अनौपचारिक सहमति पनि दुवै दलका नेताहरुबीच भएको स्रोतले जनाएको छ ।

नेकपा स्रोतका अनुसार प्रधानमन्त्री र प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाबीच कुराकानी भएपछि सभामुख निर्वाचनकै सन्दर्भमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले देउवा र कांग्रेस नेता रमेश लेखकसँग पनि छलफल गरेका थिए । कांग्रेसले उपसभामुखले बैठक सञ्चालन गर्नेमा आपत्ति जनाएन ।

शुक्रबारको बैठक उपसभामुखबाटै सामान्य प्रक्रियासहित सुरु सुनेछ । त्यसपछि पुस ११ गते बैठक बस्नेछ । यसबीचमा उपसभामुखले पदबाट राजीनामा दिनेछिन् । उपसभामुखले राजीनामा दिएपछि अर्को बैठकको अध्यक्षता जेष्ठ सदस्य महन्थ ठाकुरले गर्नेछन् ।

जेष्ठ सदस्यले सभामुख र उपसभामुख निर्वाचनको कार्यतालिका अघि बढाउनेछन् । स्रोतका अनुसार यो सबै प्रक्रिया सकिदा सभामुख तथा उपसभामुखको निर्वाचन सम्पन्न हुन कम्तीमा एक साता समय लाग्नेछ । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलत्कारको आरोप लागेपछि १४ असोजमा तत्कालिन सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका थिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्